२५ बैशाख २०८१, मंगलवार

 

३८ प्रतिशतले बढ्यो ज्योति विकास बैंकको खुद नाफा

ज्योति विकास बैंकको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ३८ प्रतिशतले बढेको छ । चालु आवको चैतसम्म बैंकले ६० करोड २५ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत वर्षको यसै अवधिमा बैंकले ४३ करोड ६० लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

गत वर्षको तुलनामा यो वर्ष ज्योतिको नाफा १६ करोड ६५ लाख रुपैयाँ बढेको बैंकले बिहीबार सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । बैंकको खुद ब्याज आम्दानीमा केही कमी आए पनि निष्क्रिय कर्जा असुली गरेकाले नाफामा बढोत्तरी भएको हो । यसबीच बैंकले १२ करोड ४१ लाख रुपैयाँ निष्क्रिय कर्जा असुली गरेको छ ।

बैंकले १ अर्ब १ करोड ८९ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत वर्षको यसै अवधिमा बैंकले १ अर्ब ८ करोढ ७८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । खुद ब्याज आम्दानी घटे पनि फी तथा अन्य शुल्क र सञ्चालन आम्दानी बढेका कारण खुद नाफा बढेको हो ।

चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ४३ करोड ३१ लाख रुपैयाँ रहेको छ । खुद नाफासँगै बैंकको प्रतिसेयर आम्दानीमा पनि सुधार भएको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा १६ रुपैयाँ ६३ पैसा रहेको बैंकको यस्तो आम्दानी चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ४ रुपैयाँ २६ पैसा बढेर २० रुपैयाँ ८९ पैसा पुगेको वित्तीय विवरणमा उल्लेख छ । बैंकको सञ्चित कोषको आकार बढेर ८५ करोड २१ लाख रुपैयाँ पुगेको छ । यस्तै चुक्ता पुँजी ३ अर्ब ८४ करोड रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्