
गण्डकी प्रदेश सभाका सांसद खिमविक्रम शाहीले मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावमा मतदान गर्ने बेला आफू विरामी भएकाले उपस्थित हुन नसकेको बताएका छन् ।
बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै सदनको कार्यसूची बमोजिम मुख्यमन्त्री माथिको अविश्वासको प्रस्तावमाथि छलफल र मतदान हुने समयमा अचानक विरामी भइ बेहोस भएकाले उपस्थित हुन नसकेको बताएका हुन् ।
उनले विज्ञप्तिमा लेखेका छन्–’सदनमा जाने भनि तयारी अवस्था रहेका बेला अचानक विरामी भइ भाईलाई सम्पर्क गरेर आफ्नो स्वास्थ्य उपचारका लागि अस्पताल जाँदै गर्दा बेहोस् भएछु । म अहिले उपचाररत छु । हाल मेरो स्वास्थ्य क्रमिक सुधार भइरहेको महशुस गरेको छु ।’
पार्टीको निर्णय र संसदीय दलको बैठकमा गरिएको निर्णयमा आफू प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख गरेका छन् । साथै उनले यसबीचमा उठेका कैयौं प्रश्नको बारेमा स्पष्ट पार्ने बताएका छन् ।
प्रदेशसभा बैठक चलिरहेका बेला बेपत्ता भनिएका सांसद शाहीको चरक अस्प्तालमा उपचार भइरहेको छ । हिँजो मात्रै उनका तीन वटा रिपोर्ट सार्वजनिक भएको थियो । जसमध्ये दुई रिपोर्टमा कोरोना पोजेटिभ र एकमा नेगेटिभ देखिएको थियो ।