६ जेष्ठ २०८१, आईतवार

 

खाडी मुलुकका नेपालीले पठाए ५६० वटा अक्सिजन सिलिन्डर

गैरआवासीय नेपाली संघ (एनआरएनए) को सक्रियतामा ५ सय ६० वटा अक्सिजन सिलिन्डर काठमाडौं ल्याइएको छ । गैरआवासीय नेपाली संघका प्रवक्ता डिबी क्षेत्रीका अनुसार मध्यपूर्वमा रहेका नेपालीहरुको सहयोगमा संकलित रकमबाट ओमानबाट ५ सय ६० सिलिन्डर अक्सिजन सिलिन्डर नेपाल ल्याइएको हो ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सुरु गरेको ‘नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ अभियान अन्तरगत ती अक्सिजन सिलिन्डर नेपाल पठाइएको गैरआवासीय नेपाली संघले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

संघका अनुसार गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् ओमानको पहल, ओमानस्थित नेपाली राजदूतावास, विभिन्न नेपाली संघसंस्था एवं आम गैरआवासीय नेपालीहरुको संयुक्त सहयोग र सहकार्यमा नेपाल ल्याइएको अक्सिजन सिलिन्डर ७५ लाख रुपैयाँ बराबरको रहेको छ ।

ओमानदेखि काठमाडौंसम्मको अक्सिजन सिलिन्डर ढुवानीको खर्च भने नेपाल सरकारले व्यहोरेको छ । नेपाल ल्याइएका ती अक्सिजन सिलिन्डर तत्काल कोरोना संक्रमितहरु समक्ष पुगोस् भनेर आइतबार नेपाल सरकारलाई हस्तान्तरण गरिने कार्यक्रम तय भएको जनाइएको छ ।

मध्यपूर्वदेखि अक्सिजन सिलिन्डर नेपाल पुराउने अभियानमा विशेष पहलकदमी लिने ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालसहित गैरआवासीय नेपाली संघ (एनआरएनए) ओमान, संघका केन्द्रिय पदाधिकारीहरु, मध्यपूर्वमा रहेका राष्ट्रिय समन्वय परिषद्हरु प्रति संघले धन्यवाद दिएको छ ।

यसअघि संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा बसेको बैठकले आफ्ना विश्वभर छरिएका राष्ट्रिय समितिहरुलाई परिचालन गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्