
बागलुङमा थप १ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धौलागिरि अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उनीहरुमा संक्रमण रहेको पुष्टि भएको हो । स्वास्थ्य कार्यालय बागलुङका अनुसार धौलागिरि अस्पतालमा आएका शंकास्पद बिरामीहरु मध्ये ३३ जनामा संक्रमण पुष्टि भएको छ ।
अस्पतालले ४३ जनाको स्वाब संकलन गरेको थियो । यस्तै, जैमिनी नगरपालिकाका ३० जनामा संक्रमण पुष्टि भएको छ । त्यहाँको स्वास्थ्य शाखाले ६२ जनाको स्वाव संकलन गरेर परीक्षणका लागि पठाएको थियो । दोस्रो लहर चलेपछि पहिलो पटक परीक्षण गराएको ढोरपाटन नगरपालिकामा २५ जनामा संक्रमण पुष्टि भएको छ ।
ढोरपाटनमा ४३ जनाको परीक्षण गरिएको थियो । तमानखोला गाउँपालिकामा ३३ जनामा संक्रमण पुष्टि भएको छ । तमानका ४६ जनाको परीक्षण भएको थियो । काठेखोला गाउँपालिकामा १३ जनाको परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड स्रोत व्यक्ति देवप्रकाश घिमिरेले बताए । सबैभन्दा धेरै सक्रिय संक्रमित रहेको बागलुङ नगरपालिकामा थप २६ जनामा संक्रमण पुष्टि भएको छ ।