
ढोरपाटन नगरपालिकाले १५ लाख ३० हजार बराबरको ६० थान अक्सिजन सिलिन्डर खरिद गरेको छ । काठमाडौंस्थित बेड म्यानेजमेन्ट प्रालिबाट नगरपालिकाले ६० थान खाली अक्सिजन सिलिन्डर खरिद गरेको हो ।
ढोरपाटन नगरपालिकाका मेयर देवुकमार नेपालीका अनुसार अक्सिजन सिलिन्डर काठमाडौंबाट हिँडिसकेको छ । खाली सिलिन्डर पोखरा भरेर मात्र नगरपालिका ल्याउने तयारी भएको उनले बताए ।
नगरपालिकाले एउटा खाली सिलिन्डर २५ हजार ५ सय रुपैयाँमा खरिद गरेको छ । चीनबाट ल्याइएको खाली अक्सिजन सिलिन्डर २५ हजार ५ सयमा खरिद गरेको पर्यटन व्यवसायी सन्तोष नेपालीले नयाँ विश्वलाई जानकारी दिए ।
‘नगरपालिकाले खोजिदिनपर्यो भनेपछि व्यवसायीबाट खरिद गरेर ल्याएको हुँ, नगरपालिकामा पुर्याएपछि भुक्तानी लिन्छु ।’ उनले भने । कोरोनाको दोस्रो लहर शुरूभएपछि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजनको अभाव छ ।