४ जेष्ठ २०८१, शुक्रबार

 

अमेजनको सीईओको जिम्मेवारी जुलाई ५ देखि जेस्सीलाई, बेजोस कार्यकारी अध्यक्ष हुने

इ कमर्स कम्पनी अमेजनका संस्थापक तथा सीईओ जेफ बेजोसले आगामी जुलाई ५ देखि प्रमुख कार्यकारी अधिकृतको पदबाट राजीनामा दिने भएका छन् । बुधबार कम्पनीको वार्षिक सेयरधनी बैठकका क्रममा बेजोसले यस्तो घोषणा गरेका हुन् ।

राजीनामासँगै बेजोसले सीईओको जिम्मेवारी एन्डी जेस्सीलाई हस्तान्तरण गर्नेछन् । जेस्सीले अहिले अमेजन वेब सर्भिसको नेतृत्व गरिरहेका छन् ।

झन्डै ३ दशकसम्म कम्पनीको नेतृत्वमा रहेका बेजोस सीईओबाट राजीनामापश्चात् पनि अमेजनको कार्यकारी अध्यक्षको रूपमा रहनेछन् ।

गत फेब्रुअरी महिनामा आयव्यय विवरण सार्वजनिक गर्ने क्रममा अमेजनले नेतृत्व परिवर्तनको घोषणा गरेको थियो जसअनुसार जेस्सीले वर्षको तेस्रो त्रैमासिकमा सीईओको जिम्मेवारी लिने बताइएको थियो ।

तथापि बेजोसले राजीनामा दिएर जेस्सीले जिम्मेवारी लिने यकिन तिथिचाहिँ तोकिएको थिएन । जुलाई ५ तारेख आफ्ना लागि निकै भावनात्मक दिन रहेको बेजोसले बताएका छन् ।

बेजोसले सन् १९९४ को जुलाई ५ मा अमेजन कम्पनी स्थापना गरेका थिए । बेजोसले भनेका छन्, ‘कार्यकारी अध्यक्षको भूमिकामा स्थानान्तरण हुने कुराले म निकै उत्साहित छु ।

त्यहाँ मैले आफ्नो ऊर्जा तथा ध्यानलाई नयाँ प्रडक्ट तथा द्रुत प्रयासहरूमा केन्द्रित गर्नेछु ।’

गत फेब्रुअरीमा नेतृत्व हस्तान्तरणको घोषणा गर्ने क्रममा बेजोसले आफू अमेजनको सीईओबाट बाहिरिएर बेजोस अर्थ फन्ड तथा ब्लु ओरिजिनलगायतका कम्पनीहरूमा बढी समय व्यतीत गर्न चाहेको बताएका थिए ।

पछिल्लो २४ वर्षसम्म अमेजन कम्पनीमा काम गर्दै आएका र हाल कम्पनीको सबैभन्दा मुनाफायुक्त विभागको नेतृत्व गरिरहेका जेस्सी कम्पनीका लागि असाधारण नेतृत्वको रूपमा स्थापित हुने अपेक्षा बेजोसले गरेका छन् ।

उनले अमेजन कम्पनीलाई विशेष बनाइराख्नका लागि आवश्यक ऊर्जा र क्षमता जेस्सीसँग रहेको बताएका छन् ।

जेस्सीले अमेजन कम्पनीको सीईओको जिम्मेवारी लिएसँगै सफ्टवेयर कम्पनी ट्याब्लेउका सीईओ एडम सेलिप्स्की अमेजन वेब सिरिजको प्रमुख बन्नेछन् ।

प्रतिक्रिया दिनुहोस्