२४ बैशाख २०८१, सोमबार

 

विश्व बैंक युवा सम्मेलनमा नेपालबाट निश्चल बानियाँ

विश्व बैंक समूह युवा सम्मेलन २०२१ को नेपाली प्रतिनिधिमा युवा वैज्ञानिक निश्चल बानियाँ छनोट भएका छन् । दुईदिने उक्त कार्यक्रम भर्चुअल माध्यममा जेठ २६ र २७ गते चल्नेछ ।

यो सम्मेलन विश्व बैंक समूहको सबैभन्दा ठूलो स्वयंसेवीहरूको संस्था युथ–टु–युथ नेटवर्क सम्बद्ध कार्यक्रम हो । युथ–टु–युथ नेटवर्कले युवाको सशक्तीकरणमा काम गरिरहेको छ ।

अन्तर्राष्ट्रिय स्तरमा युवाले सामना गरिरहेका विभिन्न चुनौती सम्बोधन गर्न युवालाई सशक्तीकरण गर्न, उनीहरूलाई प्रभावकारी परियोजनाहरूमा संलग्न गराउन साथै युवा, विश्व बैंक समूह र अन्य सरोकारवालाबीच अन्तरक्रिया गर्न विश्व बैंक समूहले सन् २०१३ देखि सम्मेलन आयोजना गर्दै आएको छ।

‘रेजिलियन्ट रिकभरी फर पिपुल एन्ड प्लानेट’ नारा सहित आयोजना हुन गइरहेको सम्मेलनमा विभिन्न विषयसँग सम्बन्धित सत्र र प्रतिस्पर्धात्मक गतिविधि सञ्चालन गरिने जनाइएको छ ।

सहभागीहरूले जलवायु परिवर्तनसम्बन्धी चुनौतीहरूलाई सम्बोधन गर्नआवश्यक छलफल गर्ने र विश्व बैंक समूहका विज्ञहरूबाट सम्बन्धित विषयमा परामर्श लिने अवसर पनि पाउनेछन् ।

कार्यक्रममा विश्व बैंक समूहक वरिष्ठ उपाध्यक्ष डा सन्दी ओकोरो, विश्व बैंकका वातावरणीय अर्थशास्त्री डेभिड काकजान, संयुक्त राष्ट्रसंघका युवाका लागि दूत जयथ्मा विक्रमनायाकेलगायत वक्ताहरूको सहभागिता रहनेछ ।

बानियाँ वाग्मती युनेस्को क्लबका प्रमुख कार्यकारी अधिकृत हुन् । उनले क्लब​को सिफारिसमा सम्मेलनको सहभागिताका लागि आवेदन दिएका थिए।

प्रतिक्रिया दिनुहोस्