२४ बैशाख २०८१, सोमबार

 

बैंकमा भिडभाड बढेपछि बैंकर्स बागलुङले थाल्यो अनुगमन

बागलुङ जिल्लामा निषेधाज्ञा खुकुलो पारिएसँगै बैंकहरूमा भिड बढेको गुनासो बढेपछि बैंकर्स बागलुङले अनुगमन थालेको छ । प्रशासनले निषेधाज्ञा खुकुलो पार्दै बैंक र सहकारी साताको दुई दिन आइतबार र बुधबार बिहान ७ देखि १० बजेसम्म खोल्न दिने निर्णय गरेको थियो ।

कोरोना संक्रमण फैलन नदिन मापदण्ड पालनासँगै सेवाग्राहीले सहज ढंगले सेवा पाऊन् भनेर बुधबारदेखि अनुगमन थालिएको बैंकर्स बागलुङका अध्यक्ष दीपक शर्माले नयाँ विश्वलाई बताए ।

‘स्वास्थ्य मापदण्ड पालना गराउँदै बैंकहरूले स्थानीय प्रशासनको सहयोगमा सेवा दिइरहेका छन्,’ उनले भने । शर्माका अनुसार केही बैंकहरूमा भिडभाड भएकाले सम्बद्ध बैंक र प्रहरीको सहयोगमा व्यवस्थापन गर्न थालिएको छ ।

‘सीमित कर्मचारीहरूबाट सेवा दिनुपर्ने बाध्यता भए पनि बैंकका काउन्टर र अन्य सेवामा स्वास्थ्य मापदण्ड पालना भइरहेकै छ, भिडभाड छैन,’ ग्रिन डेभलपमेन्ट बैंक बागलुङका शाखा प्रबन्धक सुदीप राजभण्डारीले भने ।

बैंकको कार्यालयबाहिर सेवाग्राहीलाई व्यवस्थापन गर्ने विषयमा बैंकर्स बागलुङले जिल्ला प्रशासनसँग समन्वय गरिरहेको बैंकर्स बागलुङका अध्यक्ष शर्माले नयाँ विश्वलाई बताए ।

प्रतिक्रिया दिनुहोस्