५ जेष्ठ २०८१, शनिबार

 

शानदार सिरुबारी

सिरुबारी पुग्ने अनेक बाटा छन्– सिद्धार्थ राजमार्गको पोखरा, नौडाँडा, सेतीदोभान, कार्कीनेटा, बगाले हुँदै सिरुबारी । दोस्रो पोखरा, बाडखोला, दरौँ, माझकटेरी हँुदै सिरुबारी ।

तेस्र्रो पोखरा, हेर्लुङ, अर्जुनचौपारी हुँदै सिरुबारी । दशक पहिले सिरुबारीमा अहिलेको जस्तो चमकधमक थिएन । अहिलेचाहिँ सिरुबारी गुलजार छ ।

पहिले सिरुबारीको परिचय नेपालका अन्य सामान्य गाउँकोझैं थियो । जब नेपालमा भ्रमण बर्ष १९९८ मनाईयो त्यसपछि सिरुबारीले आफ्नो परिचयलाई फराकिलो बनायो ।
सिरुबारीलाई ‘पर्यटकीय गाउँ’ बनाउने सोच पलायो रुद्रमान गुरुङमा । गुरुङ उनै हुन्, जो अहिले हामी माझ छैनन् । केही साता अघि उनी दिवंगत भए ।
लामो समयदेखि आफ्नो गाउँलाई ‘पर्यटकीय गन्तव्य’ बनाउने सपना उनले साकार पारेका थिए ।गुरुङको अर्को परिचय के भने उनी पूर्व भारतीय क्याप्टेन थिए ।
हरेकपटक छुट्टीमा गाउँ आउँदा उनी गाउँलेसँग गाउँ पर्यटनका साना–ठूला योजना सुनाउँथे । तर, ती कुरा पत्याउने कसले ? गाउँलेहरूले त्यसअघि त्यस्ता अवधारणा सुनेकै थिएनन् ।
त्यसबेलासम्म नेपालमा ग्रामीण पर्यटनको कुनै झिनो संकेत पनि देखिएको थिएन । यस्तो परिकल्पनाले मूर्त रूप लिन निकै वर्ष लाग्यो । सिरुबारीमाथि देखिएको सपना २०५४ सालमा आइपुगेर साकार भयो ।
स्याङ्जाको उत्तरी गाविसमा अवस्थित यस गाउँको विशेषता अरूभन्दा फरक छ । चिटिक्क परेका ढुङ्गेघर, ढुङ्गाकै गाह्रो, ढुङगाकै बाटो, ढुङ्गाकै आँगन–पिँढी, अत्यन्तै हार्दिक गाँउले, गुरुङ समुदायको मौलिक संस्कार, संस्कृति, न्यानो स्वागत अनि बिदाई यहाँको पहिचान हो ।
दरौँे सिरुबारी पुग्नेले गाउँलेहरूबाट पाएको आतिथ्य र आनन्द पनि यस कुरालाई पुष्टि गर्न पर्याप्त छ ।
बिहान सबेरै उठेर दैलो–कुचो गरिरहेका स्थानीय, आँगनमा उन्मुक्त खेलिरहेका केटाकेटी, गाँउको ढुङ्गा बिछ्याइएको बाटोघाटो सफा गर्दै हिँडेका गृहीणी देख्दा सोध्न मन लाग्छ, आज यस गाँउमा कुनै सभा वा सम्मेलन त हुँदै छैन ?
यस्तै आभाष भएको थियो मलाई पहिलोपटक यहाँ पाईला टेक्दा ।सिरुबारीका महिला अहिले आफ्नो गाँउलाई नेपालकै पहिलो नमूना ग्रामीण पर्यटकीय स्थल भनेर चिनाउँछन् । त्यसका लागि उनीहरू निकै मिहेनेतसाथ काम गरिरहेका छन् ।
गाउँका प्रत्येक घरमा सफा शौचालय, चिटिक्क पारेर मिलाइएको बिस्तारा, सोलार प्यानल जडित कोठा, सफा भान्सा…। यी सबै देख्दा यस गाउँ कुनै सुमग स्थल जस्तो लाग्छ ।
‘सबै सभ्य र सु–संस्कृत बनौँ, घर–आँगन सफा राखाँै’ भन्ने अभियान नै पर्याप्त छ गाउँको मुहार फेर्न । सिरुबारीले आफुमा थपिएको यस्तो सुन्दरता र उचाई विश्वलाई देखाएको छ । गुगल सर्चमा सिरुबारीबारे ह्वार्रै सूचनाहरू पाइन्छन् ।
आमाहरूको सक्रियतामा साना बालबालिकादेखि वृद्धवृद्धासम्म आफ्नो गाउँ घुम्न आउने पाहुनालाई बाजागाजा, फूलमाला र अबिरले आत्मिक स्वागत गर्छन् ।
यस्तो स्वागतले देशभित्रैका र बाहिरका पनि पर्यटक मख्ख पारिहेका हुन्छन् । सिरुबारीमा न त होटल छ, न कुनै रेष्टुरेण्ट । गाउँ घुम्न आउने पर्यटकलाई समूहमा बाँडेर स्थानीय उत्पादनमा आधारित अग्र्यानिक खाना खुवाई, पारिवारिक वातावरणमा राख्ने परम्पराको विकास गर्नुले नै सिरुवारीको महत्व पर्यटकबीच लोकप्रिय बनेको छ ।
यसरी बिस्तारित भएको गाउँ पर्यटनलाई नेपालमा चलेको दशक लामो द्वन्द्वले प्रत्यक्ष असर पा¥यो । सिरुवारी गाउँ पर्यटन संयोजक जुम गुरुङसँग द्वन्द्वले पर्यटनलाई सुस्त बनाएको अनुभव छ ।
सिरुबारी अहिलेको अवस्थामा पुग्नुमा यस अभियानका अभियन्ता रुद्रबहादुर गुरुङको ठूलो भूमिका भएको स्थानीय बताउँछन् ।
‘मैले भारतीय सेनामा छँदा स्विट्जरल्याण्डको ग्रामीण पर्यटनबारे एउटा पुस्तक पढँे, त्यसबेला आफ्नो गाउँ सम्झिएँ,’ रुद्रबहादुर गुरुङ अघिल्लो
बर्षको भेटमा आफ्ना अनुभव सुनाउँदै थिए–‘पहाडैपहाडले भरिएको स्विट्जरल्याण्डमा पर्यटन सम्भव हुन्छ भने हाम्रो गाउँमा किन हुँदैन ?’ यहि सोचकोे उपज हो अहिलेको सुन्दर सिरुबारी गाउँ, पर्यटन एवम् होमस्टे ।
त्यसपछि देशैभरि होमस्टे खुल्ने लहरले निरन्तरता पायो ।
०००
पछिपछि गाउँलेले रुद्रमानका कुरालाई ध्यान दिएर सुन्न थाले । ‘अहिले गाउँले सामाजिक विश्वास जितेको छ ।
सुरुमा गाउँलेलाई उदाहरण पस्कन निकै गाह्रो प¥यो, आज गाउँलेले आफ्नो भाग्यको निर्माण आँफै गरिरहेका छन्,’ रुद्रमान भन्थे, ‘गाउँलेहरूको सोचाई, काम गराइमा पनि आमूल परिवर्तन आएको छ ।
पहिले दैनिक जीवनका गतिबिधिमा उनीहरू त्यति सक्रिय थिएनन् । फोहोरमैला, गाँउले रीतिरिवाज, संस्कार, सीमा अवलम्वन गर्न धेरै समय लाग्यो । आज हाम्रो गाँउ देशकै पहिलो होमस्टे अध्ययन केन्द्र बनिसकेको छ । गाउँलेहरू पर्यटकलाई सामाजिक मूल्य, विश्वास साट्न सफल बनेका छन् । यो सबै परिवर्तन देख्दा निकै खुसी हुन्छु ।’
अहिले सिरुबारी गाउँ पर्यटनको पाठशाला जस्तो बनेको छ । देशदेखि विदेशीसम्म होमस्टे सिक्न सिरुबारी आइपुग्छन् । हाल सरकारले होमस्टे कार्यविधि लागु गरेपछि गाउँ पर्यटनलाई बढवा मिलेको छ ।
गाउँगाउँमा होमस्टे खोल्न तछाड मछाड गरिरहेका भेटिन्छन् गाउँले । सिरुबारीको यही ख्यातीले उनीहरुलाई हौसला मिलेको छ । अझ पश्चिम क्षेत्रका बाक्लो गुरुङ, मगर गाउँबस्ती भएको समुदायमा होमस्टे अनिवार्य आवश्यकता जस्तो भएको छ । घरबास सेवा संचालनले उनीहरुलाई आय–आर्जनको बाटो खोली दिएको छ ।
सिरुबारीले गाँउ पर्यटन होमस्टे सुरु गरेकै बर्ष मलेसियाको क्वालालाम्पुरमा आयोजित कार्यक्रममा ट्राभल एसोसिएसन अवार्डसँगै २००१ मा एसियाकै पाटा गोल्डेन अवार्ड पनि पाईसकेको छ ।
अहिले नेपालमा ग्रामीण पर्यटन एवम् होमस्टेको लहर चलीरहेका बेला सिरुबारी गाउँबाट अन्य गाउँहरूले पर्यटनको सिको गरिरहेका छन् ।
लमजुङको घले गाउँ, भुजुङ गाउँ, पास गाउँ, काउलेपानी होस् या पर्वतको चित्रे, डाँडाकटेरी, लेसपार या नवलपरासीको सिसवार, म्याग्दीको दोवा, कास्कीको ताङतिङ, घान्द्रुक, धम्पुुस, सिक्लेस, पचभैया, हेम्जाकोट, ल्वाङघलेल या तनहूँको बन्दिपुर, रानागाउँ, पाल्पाको बौघागुम्हा,
कैलालीको भादागाउँ, गोरखाको बारपाक, रसुवाको बृदिम, काठमाण्डौँको कपन, मकवानपुरको चित्लाङ, काभे्रको बल्थलि, बर्दीया, कैलालीका थारु होमस्टे यस्ता थुपै्र गाँउहरू सिरुवारी गाँउले देखाएको बाटो हिँडिरहेका छन् ।
जसरी सिरुबारीको प्राकृतिक र ऐतिहासीक स्रोतसम्पदा अपार छ यहाँको मानविय स्रोत सम्पदालाई पनि उत्तिकै गतिशील बनाउन गाउँले कटिबद्ध छन् । सिरुबारीको समाज ज्यादै मिलनसार र मेहनति देखिन्छ ।
लाहुर गएर आउने छोराछोरीलाई स्वागत–सत्कार गर्दागर्दै सिरुवारीवारीले पर्यटक भित्राउने उपाय सुझाएको स्थानीय ७७ बर्षीय मैताकुमारी गुरुङ बताउँछिन् ।
उनी भन्छिन्– ‘हाल पाहुना आउँदा खुशी, रमाईलो सँगै पारिवारिक सदस्यहरू टाढा भए जस्तो पनि लाग्दैन, सजिलै समय बितेको छ ।’
गाउँ आउने पाहुनाको उपस्थितीले गाउँमा रमाइलो वातावरण छ ।
घरघरमा पाहुना राख्न पाउँदा हामीलाई पनि दुईचार पैसा आम्दानी भएको छ, परम्परागत खाना चाख्न पाउँदा पाहुनाहरु प्नि खुसी हुन्छन्,– स्थानीय पूर्णमाया गुरुङ बताउँछिन् ।
गाउँ पुग्ने अधिकांश पाहुनाहरु नेपाली नै हुन्छन् । बिदेशी थोरै मात्र पुग्छन् । उनका अनुसार– हिजो शिक्षा, रोजगारी र अवसरको खोजीमा सहर च्यापिने या विदेशीने युवाहरु अहिले बाहिर जानु भन्दा पनि गाउँमै बसेर कही गरे घरमै रोजगारी हुन्छ भन्ने बुझ्न थालेका छन् ।
पर्यटक आउन थालेपछि गाउँमा पर्यटकीय पूर्वाधार भपिने क्रम त्यही रुपमा बढेको उनको भनाइ छ ।०५४ सालमा आधा दर्जन घरबाट सुरु गरिएको होमस्टे अहिले ४२ घरसम्म फैलिएको छ ।
यहाँ एकै रातमा १५० जना भन्दा बढिले घर–बास सुविधा लिन सक्छन् । जब सिरुबारीले २०५७ सालमा देशकै ठूलो पर्यटन कार्यशाला स्थानीय रुपमा आयोजना ग¥यो तब यस गाउँ अझै चम्किन सुरु ग¥योे ।
हाल सिरुवारी देशीदेखि विदेशीसम्मका लागि गन्तव्य बनेको छ । गाउँलेहरू सिरुबारीलाई यसको मौलिकता नबिगारि विकास गर्न लागिपरेका छन् ।
पर्यटकलाई खुसी तुल्याउन उनीहरू स्थानीय भेषभूषामा सजिएर आफ्ना मौलीक संस्कार एवम् संस्कृति पस्कन खप्पिस छन् । गाउँले पर्यटकको रोजाइ अनुसारका खाना परिकार बनाउन र सत्कार गर्न सिपालु छन् । उनीहरूको स्वागत, बिदाई र बसाइमा स्थानिय मौलिकता देखिन्छ ।
हाल ठूलो सङ्ख्यामा आन्तरिक एवम् बाह्य पर्यटक सिरुबारी पुग्छन् । सबै किसिमका भौतिक पूर्वधारले पनि सिरुवारी आर्थिक रुपमा सम्वृद्धितर्फ लम्किँदै छ ।
गाँउमा हेर्न र घुम्नका लागि अनेक वस्तु छन् । मौलिक घरबनोट, बौद्धगुम्बा, गुरुङ संस्कार, संस्कृति, स्थानीय जीवनशैली, अनुशासन, लगनशीलता, कला, सिप आदि अन्य गाउँका भन्दा फरक लाग्छ ।
गाउँलेहरुलाई पर्यटन व्यवस्थापनमा आकर्षित गराउन कुकिङदेखि स्वागत सत्कार सम्बन्धी तालिमहरु बेलाबेला गाउँ पर्यटन समितिले गाउँलेहरुका लागि व्यवस्थापन गर्छ ।
जसले गाउँ भित्रने पाहुनाका लागि उनीहरुको चाहना र माग अनुुसारका सेवा दिन सजिलो भएको छ । गाउँ पुग्ने आन्तरीक होस या बाह्य पर्यटक सबैले समान खालको सेवा र व्यवहार गाउँलेबाट पाउँछन् ।
गाउँ घुम्नलाई स–साना ढुङ्गे सिँढी प्रयोग गरिन्छ । सिरुबारीबाट पहाडी तथा हिमाली दृश्यको चिताकर्षक शृङ्खला साथै सूर्योदय र सूर्यास्त भएको दृश्य पनि हेर्न सकिन्छ ।
गाउँमा कुनै व्यक्तिको जीवन गुजारा कठिन भएको अवस्थामा आर्थिक जीवनस्तर उठाउनका निम्ति पनि गाउँलेहरू उत्तिकै सहयोगी हुन्छन् । यसरी आफ्नो गाउँको रीतिथिति कायम राख्न स्थानीय लागिपरेका छन् ।
उत्पादनका दृष्टिले सिरुबारीमा परम्परागत खेती प्रणाली नै छ । उनीहरू आफ्नो स्वामित्वमा रहेको जग्गामा गहूँ, मकै, धान, उवा, फापरजस्ता मौसमी खाद्यान्न सामाग्री उत्पादन गर्छन् ।
पर्यटकलाई लक्षित गरि त्यहि खुवाउँछन् । सकभर अर्गानिक नै हुन्छ । तत्काल आवश्यक सामान एैचो–पैँचो गरेर पनि उनीहरू आफ्नो आवश्यकता पूर्ति गरिरहेका हुन्छन् ।
बजारका लागि उनीहरू पोखरा या स्याङ्जासँग आश्रित हुनुपर्छ । ढुवानीका लागि अहिले गाउँसम्मै मोटरबाटो पुगेको छ । गाउँ–वडामा हुने कुनै पनि विकास निमार्णमा गाउँलेहरू सक्रिय ढङ्गले लागिपर्छन् ।
‘गरे नहुने केही छैन ।’ यस कहावत बुढा पुस्ताबाट सर्दै सर्दै हामीसम्म आइपुगेको हो । हामीले सानैदेखि भन्दै–सुन्दै आएको यो लोकोक्तिलाई सिरुवारीबासीले चरितार्थ गरिदिएका छन् ।
गाउँलेको जोश, जाँगर र एकतालाई सलाम गर्नुपर्छ । यस्तो गाउँ हाम्रो देशकै सम्पति हो । गाउँ नै गाउँले भरिएको नेपालले सिरुबारीबाट धेरै कुरा सिक्नुपर्छ ।
जाने होइन त सिरुबारी ?

प्रतिक्रिया दिनुहोस्