नेपाल चिकित्सक संघले धौलागिरि क्षेत्रका तीन जिल्लाका लागि तीन दर्जन अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको छ । संघले बागलुङ, पर्वत र म्याग्दीलाई १२,१२ थानका दरले अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको हो ।
अक्सिजन कन्सन्ट्रेटरका साथमा पीपीई र अन्य स्वास्थ्य सामग्री पनि पठाइएको छ । करिब ३५ लाखबराबरका ती सामग्री पूर्वस्वास्थ्यमन्त्री गगन थापाका स्वास्थ्य सल्लाहकार प्रताप पौडेल र नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि डिल्लीराम सुवेदीमार्फत ल्याइएको हो ।
कोरोनाको दोस्रो लहर बढ्दै गएको अवस्थामा अस्पताल र स्वास्थ्यसंस्थालाई राहत मिलोस् भनेर चिकित्सक संघसँग समन्वय गरी ती सामग्री ल्याइएको सल्लाहकार पौडेलले बताए ।
उनका अनुसार बागलुङका लागि ल्याइएको अक्सिजन कन्सन्ट्रेटर धौलागिरि अस्पताल, नगरपालिकाको आइसोलेसन केन्द्र, पैयुँपाटा, नारायणस्थान, अमलाचौर, गलकोट प्राथमिक स्वास्थ्य केन्द्र र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरिएको छ ।
‘धौलागिरि क्षेत्रका अस्पतालसँगै ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा अक्सिजन अभाव भएको पायौं,’ पौडेलले भने, ‘अक्सिजन सिलिन्डरभन्दा कन्सन्ट्रेटर नै उत्तम लाग्यो ।
त्यसैले स्वास्थ्य कार्यालय, अस्पताल र स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीकै सल्लाहअनुसार कन्सन्ट्रेटरका लागि चिकित्सक संघलाई आग्रह ग¥यौं ।’
उनका अनुसार संघले पनि ताइवानमा रहेको सुची फान्डेसनको सहयोगमा ती सामग्री भित्र्याएको हो ।म्याग्दीका लागि आएका अक्सिजन कन्सन्ट्रेटर म्याग्दी अस्पताल र ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा प्रदान गरिएको काङ्ग्रेस नेता डिल्लीराम सुवेदीले जानकारी दिए ।
टोलीले बागलुङ नगरपालिका, जैमिनि नगरपालिका, बरेङ गाउँपालिका र काठेखोला गाउँपालिकाका सबै वडाका स्वास्थ्य संस्थालाई पुग्ने गरी अक्सिमिटर, थर्मोमिटर, पीपीई, मास्क, सेनिटाइजरलगायत सामग्री प्रदान गरेको छ ।
संकटका बेला देशभरका चिकित्सक र स्वास्थ्यकर्मीलाई प्रदान गर्न सहज होस् भनेर अक्सिजन कन्सन्ट्रेटरको साथमा आवश्यक स्वास्थ्य सामग्री प्रदान गरेको नेपाल चिकित्सक संघका महासचिव डा बद्री रिजालले जानकारी दिए ।
रिजालका अनुसार संघले देशभर चार स्थानमा अक्सिजन प्लान्ट निर्माण गर्ने निर्णय गरेको छ जसमा धौलागिरिको पर्वत जिल्ला अस्पताल छानिएको छ ।
‘यो सबै काम सुची फाउन्डेसनकै सहकार्यमा हुन्छ,’ उनले भने, ‘पर्वत जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट बनाउन झन्डै डेढ करोड खर्च हुने अनुमान गरिएको छ ।’
संघले कोभिड महामारीविरुद्ध लड्न संघ, प्रदेश र स्थानीय सरकारसँग हातेमालो गरेर अगाडि बढ्ने रिजालले बताए ।
कोरोना रोकथाम र नियन्त्रणको लागि सहयोग पुगोस र नागरिकहरुको जीवन बचाउन सकियोस भनि यो अभियान थालिएको र भविष्यमा पनि थप सहयोग स्वास्थ्य संस्थाहरुलाई उपलब्ध गराउने नेपाल तरुण दल बागलुङका अध्यक्ष उमाकान्त शर्मा बाबुले नयाँ विश्वलाई बताए ।





























































































































































































