१७ बैशाख २०८१, सोमबार

 

गलकोटका पत्रकारलाई प्रेस संगठनद्वारा स्वास्थ्य सामग्री सहयोग

प्रेस संगठन नेपाल, बागलुङ शाखाले गलकोटमा क्रियाशील पत्रकार, सञ्चारकर्मीलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

कोरोना महामारीका बेला अग्रपंक्तिमा खटिएर समाचार संकलन तथा सम्प्रेषण गर्ने पत्रकारको स्वास्थ्य सुरक्षाका लागि मास्क, सेनिटाइजर र सिटामल वितरण गरिएको प्रेस संगठनका जिल्ला संयोजक थम्मन थापाले नयाँ विश्वलाई बताए ।

गलकोट नगरपालिकाको हटिया बजारबाट सञ्चालित सामुदायिक रेडियो गलकोट एफएम र गलकोटपत्र साप्ताहिकमा कार्यरत पत्रकारहरूलाई स्वास्थ्य सामग्री वितरण गरिएको हो ।

संयोजक थापा र नेपाल पत्रकार महासंघ बागलुङकी उपाध्यक्ष सरिता खत्रीले रेडियोका स्टेसन प्रमुख घनश्याम गौतम र गलकोटपत्र साप्ताहिकका कार्यकारी सम्पादक वीरबहादुर चोखाललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।

कार्यक्रममा स्टेसन प्रमुख घनश्याम गौतम, गलकोटपत्रका कार्यकारी सम्पादक वीरबहादुर चोखाल, पत्रकार शर्मिला रोका मगर, संयोजक थम्मन थापा र महासंघ जिल्ला उपाध्यक्ष सरिता खत्रीले मन्तव्य व्यक्त गरेका थिए ।

‘कोरोना कहरका बेला पत्रकारको मनोबल उच्च राख्न संगठनले दर्साएको सानो सद्भाव मात्र हो यो, चरणबद्ध रूपमा जिल्लाका सबै पत्रकारलाई स्वास्थ्य सामग्री बाँड्छौँ,’ संयाजक थापाले भने ।

जिल्लाभरमा गरी ५० हजार बराबरको स्वास्थ्य सामग्री वितरण गर्न लागिएको संगठनका जिल्ला सचिव अनिश खातीले बताए ।

यसअघि संगठनले पत्रकारको सुरक्षा र संक्रमित पत्रकारलाई सहयोग गर्ने उद्देश्यसहित संगठनका सल्लाहकार तथा नेपाल पत्रकार महासंघ बागलुङ शाखाका पूर्वसचिव राम थापा अविरलको नेतृत्वमा ‘सहायता कक्ष’ निर्माण गरेको थियो ।

संगठनका शाखा संयोजक थम्मन थापा, सदस्य विमल खड्का र पत्रकार महासंघ जिल्ला उपाध्यक्ष सरिता खत्रीको टोलीले बिहीबारै ढोरपाटन

नगरपालिका र बडीगाड गाउँपालिकामा सञ्चालित रेडियो सारथि, परिवर्तन, ढोरपाटन, बुर्तिबाङ, अनलाइन बडिगाड, निसीखोला न्युज र ढोरपाटन पोस्टमा कार्यरत पत्रकारहरूलाई पनि स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्