एलपी ग्यास विक्रेता संघ बागलुङले कोरोना खोप उपलब्ध गराइदिन माग राखी प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । संघका अध्यक्ष हरिप्रसाद आचार्यले आफूहरूलाई कोरोना खोप लगाई सुरक्षापूर्वक काम गर्ने वातावरण मिलाइदिन प्रजिअ शिवकुमार कार्कीसमक्ष आग्रह गरेका हुन् ।
संक्रमित बिरामीको घरमा समेत एलपी ग्यास ढुवानी गर्नुपर्दा आफूहरू प्रत्यक्ष जोखिममा परेको संघले जनाएको छ । प्रजिअ कार्कीले बागलुङमा कोरोना भाइसविरुद्धको खोप लगाउनुपर्ने प्राथमिकतामा ग्यास विक्रेता पनि जनाउँदै आफ्ना तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता जनाए ।
संघले प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाई बागलुङ नगरपालिका, राष्ट्रिय उपभोक्ता मञ्च, बागलुङ उद्योग वाणिज्य संघलाई पनि बोधार्थ दिएको एलपी ग्यास विक्रेता संघ बागलुङका कार्यसमिति सदस्य गणेश लम्सालले नयाँ विश्वलाई जानकारी दिए ।
राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले आमउपभोक्ताको चुलोसम्म एलपी ग्यास पु¥याउँदै आएका विक्रेतालाई कोरोना खोपको प्राथमिकतामा राख्नुपर्ने बताए ।
बागलुङमा एलपी ग्यास बिक्रीवितरण गर्ने २५ डिलर छन् भने ५० जनाभन्दा बढी सहडिलर छन् ।कार्याक्रमको संचालन एलपी ग्यास विक्रेता संघ बागलुङका कार्यसमिति सदस्य गणेश लम्सालले गरेका थिए ।
उत्तरगंगाबाट





























































































































































































