सरकारले जिल्लामा पठाएको कोरोनाविरुद्धको खोप लक्षित वर्गलाई नै पु¥याउन मुस्किल परेको छ । पर्याप्त खोप नभएकै कारण कोरोना नियन्त्रण अभियान प्रभावकारी बन्न सकेको छैन ।
सरकारले विभिन्न उमेर–समूह र लक्षित वर्ग छुट्ट्याएर खोप अभियान चलाए पनि अझै ठूलो संख्या त्यसबाट वञ्चित छ ।
कोरोनाको खोप लगाउनेको संख्या अत्यधिक हुँदा खोप पुर्याउन सकस भएको छ ।यतिसम्म कि खोपका लागि घण्टौं लाइन बसेका ५५ वर्षमाथिका नागरिकहरु नै रित्तै हात घर फर्कन बाध्य भएका छन् ।
बागलुङ नगरपालिकाको वडा नं २ कार्यालय,वानपा ३ को कालिका कन्या मावि,वडा नं ४ कार्यालयलगाएत अन्य वडाहरुमा कोरोना खोप लगाउनेको चाप बढेपछि खोप नपुगेको र व्यवस्थापनमा समस्या आएको बागलुङ नगर स्वास्थ्य शाखाप्रमुख रामप्रसाद खनालले बताए ।
वडा न. २ को कार्यालयमा गैर जिल्लाका र अन्य पालिकाको ५५ वर्षमाथि नागरिकहरु,जेष्ठ नागरिक, कर्मचारी र शिक्षकले खोप लगाउन आउँदा पनि समस्या भएको स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन देव प्रकाश घिमिरेले नयाँ विश्वलाई बताए ।
सरकारले ५५ वर्षमाथि उमेर–समूहका नागरिक र शिक्षक–कर्मचारीका लागि भन्दै बागलुङमा ५ हजार ५ सय मात्रा खोप पठाए पनि माग त्यसभन्दा धेरै रहेको नगर स्वास्थ्य शाखाप्रमुख खनालले बताए ।
‘अब अमेरिकाले अनुदानमा दिएको जोनसन एन्ड जोनसन कम्पनीको खोप आएर लगाउन सुरु भएको छ,’ उनले भने । बागलुङका लागि १२ हजार मात्रा खोप आएकोले बुधबारबाट लगाउन थालिएको खनालले बताए ।
उक्त खोप ५० देखि ५५ वर्ष उमेर–समूहका नागरिक र अपांगता भएका व्यक्तिलाई दिइँदै छ । बागलुङमा हालसम्म १८ हजार ९ सय ८७ जनाले कोभिसिल्ड खोप लगाएका छन् ।
तीमध्ये दोस्रो डोजसमेत लगाउने ४ हजार ४ सय ४७ जना मात्र छन् । त्यसै गरी भेरोसेल पहिलो डोज लगाउनेको संख्या १२ हजार ५ सय १४ पुगेको छ । ३७ सय ७ जनाले भेरोसेलको दोस्रो डोज पनि लगाएका छन् ।
अहिले आएको खोप उमेरसमूह, शिक्षक, सवारीचालकलाई लगाउने नीति रहेको जिल्ला स्वास्थ्य कार्यालयका खोप सुपरभाइजार राजु खत्रीले बताए ।
‘केन्द्रबाट आएको खोप हामीले स्थानीय तहलाई उपलब्ध गराउने गरेका छौं,’ उनले भने, ‘त्यसभन्दा बाहेकको भूमिका हाम्रो हुँदैन ।’ लक्षित वर्गको खोप अरुले दुरुपयोग गरेर लगाउन थालेपछि सर्वसाधारण जनताले गुनासो र आक्रोश पोख्न थालेका छन् ।
स्वास्थ्यकर्मी नै दबाबमा छन् ,यस विषयमा हामी गम्भीर छौं कतिपय कमजोरी र दुरुपयोगलाई रोक्नको लागि सबैको सहयोग चाहिनेै नगर स्वास्थ्य शाखाप्रमुख खनालले बताए ।
बागलुङ बजारका फलफूल,तरकारी,खाद्यान्न,ग्यास,तरकारी,पेटो पम्प,अटोमोबाइल,होटल,रेष्टुरेन्टलगाएतका व्यवसायीहरुलाई कोराना खोप लगाउन ढिलो गरेकोमा व्यवसायीहरु आक्रोसित भएका छन् ।
नेपाल सरकारले पहिलो चरणमा भारतमा बनेको कोभिसिल खोप ल्याउँदा धेरैले आशंका र डरले उक्त खोप लगाउन मानेनन् तर दोश्रो लहरको कोभिडले धेरैे मानविय क्षति हुन थालेपछि नागरिकहरु खोप लगाउन उत्साहित हुँदा खोप केन्द्रमा अत्यधिक नागरिकहरुको भिड बढ्न थालेको हो ।
तस्वीर : रामप्रसाद घिमिरे























































































































































































