६ जेष्ठ २०८१, आईतवार

 

मल ल्याउन नसकेपछि मुक्तिनाथ कृषि कम्पनी कालोसूचीमा

मुक्तिनाथ विकास बैंकका अध्यक्ष भरतराज ढकालको कम्पनी मुक्तिनाथ कृषि कम्पनी लिमिटेडलाई सरकारले कालोसूचीमा राखेको छ ।

चालू आर्थिक वर्ष २०७७/७८ को गहुँ सिजनका लागि कृषि सामग्री कम्पनी लिमिटेडले टेन्डर आह्वान गरेकोमा ढकालको कम्पनीले २५ हजार टन युरिया र २५ हजार टन डीएपी आपूर्ति गर्ने ठेक्का पाएको थियो ।

तर, उक्त कम्पनीले समयमै मल ल्याउन नसकेपछि कृषि सामग्री कम्पनी लिमिटेडले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई कालोसूचीमा राख्न सिफारिस गरेको थियो ।

सोहीअनुरूप कार्यालयले दुई वर्षका लागि कालोसूचीमा राखेको हो ।

ठेक्का सम्झौता भएपछि आपूर्तिकर्ताले प्रतीतपत्र खोल्ने र त्यसको ५७ दिनभित्र कुन देशबाट मल ल्याउने हो, त्यहाँबाट नेपालका लागि मल जहाजमा लोड भएको आधिकारिक कागजात पेस गर्नुपर्ने व्यवस्था छ  ।

तोकिएको समय घर्किएको र थप समयभित्रसमेत मल ल्याउन नसकेको भन्दै मुक्तिनाथलाई कालोसूचीमा राखिएको हो ।

अब दुई वर्षसम्म उसले कुनै पनि सरकारी ठेक्कामा सहभागिता जनाउन पाउँदैन ।

मुक्तिनाथले युरिया प्रतिटन ३१७.१७ डलर र डीएपी ३९८.७९ डलर प्रतिटनका दरले आपूर्ति गर्ने गरी टेन्डर हात पारेको थियो । सम्झौताअनुसार मल ल्याउन नसकेपछि करिब ११ करोड रुपैयाँ बराबरको धरौटी जफत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्