२२ बैशाख २०८१, शनिबार

 

किन उठिरहन्छ पब्जी प्रतिबन्धको माग ?

सांसद आशाकुमारी विकले गत साता पब्जी र फ्री–फायरलगायत अनलाइन गेमहरू बन्द गर्नुपर्ने भन्दै सदनमा आवाज उठाइन् । नेपालमा विशेष गरी पब्जी खेलमा प्रतिबन्ध लगाइनुपर्ने विषय उठेको पहिलोपटक भने होइन । एमाले सांसद विकले अनलाइन खेलहरू बन्द नगरे अभिभावक न्याय खोज्दै अदालतका ढोकामा पुग्ने दिन आउन सक्ने चेतावनीसमेत दिइन् ।

नेकपाले नेतृत्व गरेको सरकारले यसअघि एकपटक पब्जी खेलमा प्रतिबन्ध लगाएको थियो तर सर्वोच्च अदालतको अन्तरिम आदेशले त्यो लागू भएन । यद्यपि केही अभिभावकले यसले बालबालिकामा नकारात्मक प्रभाव पारिरहेको र दूरगामी मानसिक प्रभाव पार्न सक्ने भन्दै प्रतिबन्धको माग गरिरहेकै छन् ।

सक्रिय रूपमा पब्जी खेल्नेहरूका अनुसार इन्टरनेटमा विभिन्न स्थानमा रहेका मानिसहरू एउटै खेलमा सहभागी हुन सक्ने थुप्रै खेलमध्ये यो एउटा हो ।

पछिल्लो समय नेपालमा व्यक्तिगत रूपमा मात्रै नभएर व्यावसायिक रूपमा पनि पब्जी खेल्ने गरिएको छ । सुरुमा पब्जी खेल्नेहरू समूहमा रहे पनि हाल कम्पनीकै रूपमा स्थापित छन् । तिनैमध्ये एक डीआरएस गेमिङका व्यवस्थापन प्रमुख संगीन भट्टराईका अनुसार पब्जीमा एउटा टोलीमा चार जनासम्मले खेल्न पाउँछन् ।

थप दुई जनालाई अतिरिक्त खेलाडीका रूपमा राख्न सकिन्छ । अनलाइन खेल धेरै भए पनि मोबाइल प्लेटफर्मबाटै सहजै खेल्न सकिने हुँदा पब्जी अन्य खेलको तुलनामा बढी रुचाइएको हुन सक्ने भट्टराई ठान्छन् ।

‘मोबाइल गेम हो । सबैसँग कम्प्युटरको पहुँच हुँदैन । मोबाइलबाट जहाँ बसेर, जसरी पनि खेल्न सकिन्छ,’ उनले भने । पब्जीमा सहभागी टोलीमध्ये अन्तिमसम्म रहनेले खेल जित्छ । खेलमा अन्तिमसम्म रहन खेलाडीले विभिन्न रणनीति प्रयोग गर्छन् । एउटा खेलको एउटा म्यापमा एक सय जनासम्म खेल्न सक्छन् ।

प्रत्येक समूहको लक्ष्य विपक्षीलाई पराजित गरेर लामो समय टिक्ने हो । खेलको बीचमा अनलाइनबाटै एक अर्कासँग कुरा पनि गर्न मिल्छ । सामाजिक सञ्जालजस्तै एक अर्कासँग जोडिएर कुराकानी गर्दै आआफ्नै स्थानमा बसेर खेल्न सकिने हुँदा पनि यो खेल चर्चित भएको हुन सक्ने बताइन्छ ।

‘प्रत्यक्ष कुराकानी गर्न मिल्छ,’ भट्टराईले भने, ‘कुनै पनि व्यक्तिले मनोरञ्जनका लागि धेरै मूल्य नपर्ने सामान्य मोबाइल फोनबाट समेत खेल्न सक्छ ।’ प्रतिस्पर्धात्मक खेलका लागि भने राम्रो उपकरणको आवश्यकता पर्ने भट्टराई बताउँछन् । पब्जी एपल र एन्ड्रोइड दुवैमा उपलब्ध छ । कम्प्युटरका लागि भने छुट्टै सफ्टवेयर प्रयोग गर्नुपर्ने हुन्छ ।

यसलाई प्लेस्टेसनमा पनि खेल्न सकिन्छ । विश्वका विभिन्न देशहरूमा खेलिने अनलाइन खेलको विस्तार पछिल्ला वर्ष नेपालमा पनि भइरहेको छ ।

कोरोना महामारीका कारण शैक्षिक संस्थाहरू बन्द भएको अवस्थामा त यसको विस्तार झन् तीव्र भएको यस्ता कम्पनीमा आबद्ध युवा बताउँछन् ।

‘व्यावसायिक रूपमा पब्जी खेल्नका लागि खेल्दै जाँदा विकसित हुने क्षमता आवश्यक पर्छ । समूहगत रूपमा खेल्नुपर्ने हुँदा एकअर्कासँग कुराकानीदेखि एक अर्कालाई सहयोग गर्ने कुरा महत्त्वपूर्ण हुन्छ,’ भट्टराई भन्छन् ।

दर्ता भएको चार महिनामा डीआरएसले ४४ हजार अमेरिकी डलर आर्जन गरेको कम्पनीले जनाएको छ । त्यस्तै हालसालै भएको एउटा परोपकारी प्रतिस्पर्धाबाट संयुक्त राष्ट्रसंघीय बालकोष युनिसेफलाई ‘५४, ५०० डलर दिएको’ भट्टराईले दाबी गरे । नेपाली खेलाडीहरूले दक्षिण एसियास्तरमा बढी खेल्ने गरेको बताइन्छ ।

त्यसबाहेक चीनलगायतका अन्य विभिन्न राष्ट्रबाट पनि प्रतिस्पर्धामा सहभागी हुन आमन्त्रण आउने गरेको उनीहरू बताउँछन् । पाँच जना खेलाडीहरू आफूसँग रहेको बताउने डीआरएसले उनीहरूलाई मासिक ४० देखि ५० हजार तलब दिने भट्टराईले दाबी गरे ।

‘यो एक जना सामान्य नेपालीको आर्जनभन्दा धेरै हो,’ उनले भने । नेपालमा स्काइलाइट्स गेमिङ, डेराइ गाइज, एलिमेन्ट्रिक्स र ट्रेन्ड टु किलजस्ता समूहहरू अनलाइन गेमिङमा सक्रिय छन् ।

यस्तोमा केही देशले बालबालिकालाई कति समय स्क्रिनमा बिताउन दिने भनेर कानुन बनाउन थालेका छन् । पब्जीलगायत अनलाइन खेलहरूमा बालबालिका तथा किशोरकिशोरी आकर्षित हुनुको एउटा कारण खेलको निर्माण प्रक्रिया पनि रहेको बाल मनोचिकित्सक डा। जया रेग्मी बताउँछिन् । ‘अनलाइन गेममा तत्काल रिवार्ड हुन्छ । छिटोछिटो नयाँ चीज र लेभलहरू आइराखेपछि खेलिरहन मन लाग्ने हुन्छ।

यसले एक किसिमको उत्साह दिन्छ,’ उनले भनिन् । समय मिलाएर र बुझेर खेलेमा अनलाइन खेलले हानि मात्रै नगर्ने उनको भनाइ छ ।

अभिभावकहरूको व्यस्त जीवनशैलीसँगै सन्तानसँग बिताउने समयमा कमी, आफ्नो उमेरसमूहका साथीहरूको कमी र घरबाहिर निस्किएर खेल्ने अवस्थामा सीमितता रहेका कारण अनलाइन गेममा आकर्षण बढिरहेको चिकित्सकहरूको भनाइ छ ।

प्रतिनिधिसभा बैठकमा सांसद विकले कोरोना कहरले थलिएको देशका बालबालिका तथा किशोरकिशोरीको शिक्षामा परेको असरले समाजमा डरलाग्दो समस्या सृजना भएको बताएकी थिइन् । पब्जी र फ्रीफायरजस्तो खेलको लतमा फसेका उनीहरूमा डराउने, झस्कने र जिद्दी हुने समस्या देखिएको र यसको तनाबले अभिभावकमा निम्तिने रोगहरूको दृश्य भयावह भय बनेको उनले टिप्पणी गरेकी थिइन् ।

यस विषयमा अभिभावकहरू चिन्तित भए पनि विश्वव्यापी तथ्यांकले फरक परिदृश्य देखाउने रेग्मी बताउँछिन् । ‘खेलेर नै हानि हुन्छ भन्ने यकिन तथ्यांक छैन । कुनै पनि बानीव्यवहार चाहिनेभन्दा बढी भयो भने त्यसको प्रभाव हुन्छ । उदाहरणका लागि चाहिनेभन्दा बढी सुतेर अरू कुरामा प्रभाव प¥यो भने त्यो समस्या भयो,’ उनले थपिन् ।

डीआरएसमा आबद्ध प्राय खेलाडीहरू २० देखि २५ वर्षसम्मका रहेको भट्टराई बताउँछन् । ती सबै पुरुष हुन् । उनीहरूले दैनिक ६ देखि ८ घण्टासम्म खेल्ने गर्छन् । खेलको ‘लत’ लाग्ने भनेर प्रचार गरिएको विषयमा भट्टराई असहमत छन् ।

बढी समय अनलाइन गेममा बिताउनुमा उनी खेलको भन्दा बढी अरू नै विषय कारक रहेको ठान्छन् । पाँच वर्षका बच्चालाई हातमा मोबाइल फोन थमाउने अभिभावकहरूको यसमा उत्तिकै दोष रहेको उनको भनाइ छ । ‘२० हजारको फोनदेखि आइफोनसम्म उपलब्ध गराउने त अभिभावकहरू नै हुन् नि ।

मेरो छोराले खेलिरह्यो भनेर विषय उठान गर्नुभन्दा खेलले समाजमा पारिरहेको प्रभाव हेर्नुप¥यो । मानिसले यसबाट कमाएर जीवन कहाँबाट कहाँ पु¥याउन सक्छ हेर्नुप¥यो,’ भट्टराईले भने ।

प्रतिक्रिया दिनुहोस्