६ जेष्ठ २०८१, आईतवार

 

बैंकहरूले १० प्रतिशतसम्म बढाए ऋणको ब्याज

बैंक तथा वित्तीय संस्थाले नयाँ ऋणको ब्याजदर १० प्रतिशतसम्म पुर्‍याएका छन् । बजारमा तरलता अभाव हुँदै गएको र नयाँ ऋणको माग बढ्दै गएको भन्दै बैंकहरूले नयाँ कर्जाको ब्याजदर अधिकतम १० प्रतिशत पुर्‍याएका हुन् ।

एक बैंकका प्रमुख कार्यकारी अधिकृतका अनुसार विगतको भन्दा केही प्रतिशत ब्याजदर बढेको हो । ‘पुराना ऋणमा ब्याजदर बढाइएको छैन, नयाँ ऋण चाहनेका लागि ८.५ प्रतिशतदेखि १० प्रतिशतसम्म पुगेको हो,’ ती बैंकरले भने, ‘केही समयअघिसम्म ८.५ प्रतिशत ब्याजदर अधिकतम थियो । अब त्यसमा केही डेढ प्रतिशत हाराहारी बढेको हो ।’

अहिले सिद्धार्थ, एनआईसी एसिया, एनएमबी, कुमारीलगायत बैंकले ऋणको ब्याजदर बढाएका हुन् । कोरोना महामारी फैलिएपछि कर्जामा माग ह्वात्तै घटेकाले ऋणको ब्याजदर पनि ओह्लालो लागेको थियो । तर, विस्तारै कर्जाको माग हुन थालेको र बैंकमा लगानी योग्य रकमको अभाव हुँदै गएपछि ऋणको ब्याज बढ्नु स्वाभाविक भएको बैंकरहरू बताउँछन् । यद्यपि, बैंकले पुरानो ऋणको ब्याजदर बढाएका छैनन् ।

अहिले सेयर लोनको ब्याजदर बढाइएको छ । अटो लोन, औद्योगिक क्षेत्रका लागि लिइने ऋण र जलविद्युत्‌का लागि लिइने ऋणको ब्याजदरमा कुनै हेरफर नभएको बताइएको छ ।

पछिल्लो समय सेयर बजारमा लगानीकर्ताहरूको आकर्षण बढिरहेको छ । विकास बैंक तथा फाइनान्स कम्पनीबाट १२ प्रतिशत ब्याजदरमा ऋण लिएर भए पनि लगानीकर्ताले सेयर बजारमा लगानी गरिरहेका छन् । त्यही देखेर बैंकले पनि मार्जिक कर्जाको ब्याजदर बढाएका हुन् । केन्द्रीय बैंकले सेयर कर्जामा केही कडाइ गर्न बैंकहरूलाई मौखिक रूपमा भनेपछि बैंकले त्यो क्षेत्रमा जाने कर्जाको ब्याजदरमा वृद्धि गरेको अनुमान गरिएको छ ।

पछिल्लो समय आयात पनि बढ्न थालेको छ । व्यवसायीले धमाधम एलसी खोल्न थालेपछि त्यतातिर ठूलो रकम भएकाले पनि ब्याजदरमा प्रेसर सिर्जना गरेको हो । गत आर्थिक वर्षको अन्त्यदेखि नै बैंकिङ प्रणालीमा रहेको अधिक तरलताका कारण बैंकहरूको ब्याजदर क्रमशः घट्दो क्रममा थियो ।

त्यस्तै बैंकहरूबीच प्रतिस्पर्धा बढ्दासमेत निक्षेप र कर्जाबीचको अनुपात स्प्रेड दरसमेत घटेको छ । यसले गर्दा बैंकहरूको ब्याजदर घटेको हो । गत वर्ष बैंकहरूसँग लगानीयोग्य रकम पर्याप्त थियो जसले गर्दा बैंकहरूले निक्षेपको ब्याजदर घटाए । निक्षेपको ब्याजदर घटेपछि कर्जाको ब्याजदरमा समेत कमी आएको हो । तर, चालू आर्थिक वर्ष लागेपछि बैंकले विस्तारै बैंकको ब्याजदर बढाउन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्