६ जेष्ठ २०८१, आईतवार

 

साउन तेस्रो सातासम्म ६१ अर्बले घट्यो निक्षेप, अहिलेसम्मकै बढी

वाणिज्य बैंकहरूको निक्षेप संकलन अहिलेसम्मकै उच्च दरले घट्न पुगेको छ । नेपाल बैंकर्स संघका अनुसार चालू आर्थिक वर्षको पहिलो महिना अर्थात् साउनको तेस्रो सातासम्ममा ६१ अर्बले निक्षेप घटेको हो ।

बैंकका अनुसार साउन २२ गतेसम्म वाणिज्य बैंकहरूले कुल ४१ खर्ब ४० अर्ब निक्षेप संकलन गरी ३७ खर्ब ३२ अर्ब कर्जा लगानी गरेका छन् ।

जबकि गत महिना असार मसान्तसम्ममा बैंकहरूले कुल ४२ खर्ब १ अर्ब निक्षेप संकलन गरी ३७ खर्ब २१ अर्ब कर्जा परिचालन गरेका थिए । उक्त तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो महिना अर्थात् साउन १ गतेदेखि २२ गतेसम्म वाणिज्य बैंकहरूले अधिकतम ६१ अर्ब रुपैयाँ निक्षेप गुमाएका हुन् ।

साउन पहिलो साता अधिकतम ४३ अर्बले गुमेको निक्षेप दोस्रो साता ६ अर्ब र तेस्रो साता १२ अर्ब घटेको बैंकर्स संघले जनाएको छ ।

यता, कर्जा लगानी तथा विस्तारतर्फ पनि बैंकहरूको साउनको पहिलो साता १५ अर्बले घटेकोमा दोस्रो साता १० अर्बले र तेस्रो साता अधिकतम १६ अर्बले घटेको संघले जनाएको छ । विगतका वर्ष पनि साउनमा केही मात्रामा निक्षेप घट्ने गरेकोमा यसपटक अस्वाभाविक रूपमा घटेको संघको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्