६ जेष्ठ २०८१, आईतवार

 

व्यापार र निक्षेपको रफ्तार बढाउँदै गरिमा विकास बैंक, खुद नाफा ८२ करोड ५२ लाख

गरिमा विकास बैंकले विगतको तुलनामा नाफामा निकै सुधार गरेको छ । मोफसलबाट उदाएर राष्ट्रिय स्तरमा फैलिएको बैंक व्यापार विस्तारदेखि निक्षेप संकलनसम्म आक्रामक रूपमा अघि बढेको हो ।

बैंकले खुद नाफा ४३ प्रतिशतले बढाएर ८२ करोड ५२ लाख रुपैयाँ पुर्‍याएको छ। बिहीबार गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गर्दै बैंकले व्यापार विस्तारबाटै नाफामा सुधार गरिएको जनाएको छ।

बैंकको खुद ब्याज आम्दानी १९.३६ प्रतिशतले बढेको छ। बैंकले गत आर्थिक वर्ष एक अर्ब ९३ करोड ६५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।

राष्ट्र बैंकको असल ऋणमै गरिने एक प्रतिशतको प्रोभिजनिङ १.३ प्रतिशत पुर्‍याउनुपर्ने नीति आएपछि बैंकको प्रोभिजनिङ पनि बढेकोछ। प्रोभिजनिङ करिब ७१ प्रतिशतले बढेर ४० करोड २३ लाख रुपैयाँ नाघेको छ।

यसमा कोभिड प्रभावित व्यवसायीलाई दिइएको ऋण पनि पर्छ। यस्तो ऋणमा एक प्रतिशतको ठाउँमा पाँच प्रतिशत प्रोभिजनिङ गर्नुपर्ने व्यवस्था छ।

बैंकले ऋण ४८.६० प्रतिशतले र निक्षेप ५०.५९ प्रतिशतले बढाएको छ। बैंकसँग ग्राहकलाई दिइएको कुल ऋण ५१ अर्ब ८० करोड पुगेको छ।

निक्षेप पनि ६३ अर्ब ९० करोड रुपैयाँ नाघेको छ। बैंकको आधार ब्याज दर ९.३१ प्रतिशतबाट ८.१७ प्रतिशतमा झरेको छ। यसले ऋणलाई अझ सस्तो बनाएको छ।

यसबाहेक बैंकले ४.९५ प्रतिशतको स्प्रेडलाई साढे ४ प्रतिशतमा झारेको छ। बैंकको प्रति सेयर आम्दानी २२.४५ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात २४.२३ गुणा छ।

प्रतिक्रिया दिनुहोस्