३ कार्तिक २०८३, सोमबार

 

एक जनालाई संक्रमण देखिएपछि न्युजिल्यान्डमा लकडाउन

एक जनामा कोभिड संक्रमण देखिएपछि न्युजिल्यान्डमा लकडाउन घोषणा गरिएको छ। ६ महिनापछि न्युजिल्यान्डको अकल्यान्डमा एक पुरुषमा संक्रमण देखिएको हो।

संक्रमण देखिएसँगै अक्ल्यान्डमा एक हप्ता लकडाउन घोषणा गरिएको छ। संक्रमण देखिएका व्यक्ति घुमेको कोरोमन्डेल सहर पनि एक हप्ताका लागि लकडाउनमा रहनेछ।

न्युजिल्यान्ड सरकारले संक्रमण फैलिनबाट रोक्न भन्दै देशभर ३ दिन लकडाउन घोषणा गर्ने निर्णयसमेत गरेको छ। ५८ वर्षीय पुरुषमा गत बिहीबारबाट संक्रमण भएको हुन सक्ने अनुमान अधिकारीहरूले गरेका छन्।

अधिकारीहरूले नयाँ केस डेल्टा भेरियन्ट हुन सक्ने अनुमान गरेका छन्। संक्रमण फैलिन सक्ने २३ स्थान छनोट गरेर सतर्कता अपनाइएको छ।

न्युजिल्यान्डमा हालसम्म २० प्रतिशत जनसंख्याले मात्रै कोरोना भाइरसविरुद्ध पूर्ण खोप लगाएका छन्।

न्युजिल्यान्डकी प्रधानमन्त्री जसिन्डा अर्डेनले आफूहरू यसका लागि पहिल्यैदेखि तयार भएको भन्दै सबैलाई स्वास्थ्य मापदण्ड र लकडाउन पालना गर्न आग्रह गरेकी छिन्।

उनले अत्यावश्यक सेवासुविधाबाहेक अन्य सबै क्षेत्र लकडाउनको समयमा बन्द हुने बताइन्।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung