५ जेष्ठ २०८१, शनिबार

 

८ करोडले बढ्यो महिलाहित सहकारीको कारोबार

महिलाहित बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङको कारोबार गत वर्षभन्दा ८ करोडले बढेको छ । हालै आयोजित आव ०७७/०७८ को समीक्षा एवं भावी कार्ययोजना बैठकमा यस्तो जानकारी गराइएको हो ।

कार्यक्रममा प्रबन्धक चन्द्रा कार्कीले संस्थाका सम्पूर्ण कारोबार र भावी कार्ययोजना प्रस्तुत गरेकी थिइन् ।

हालसम्म संस्थाको कारोबार ३१ करोड ५६ लाख छ । त्यस्तै सदस्य संख्या ११ सय १७ जना र सेयर रकम २ करोड ५९ लाख ७० हजार रहेको सहकारीकी अध्यक्ष लीलादेवी खड्काले जानकारी दिइन् ।

कार्यक्रममा वडाध्यक्ष लक्ष्मी बाँस्कोटाले सहकारीमार्फत विपन्न महिलालाई संगठित गरेर आय आर्जनमा लगाउनुपर्ने विचार व्यक्त गरेकी थिइन ।

अहिले महिलाहित सहकारीमा २ सय ६ जना व्यवसायी महिला आबद्ध छन् । २०५२ सालमा महिलाहित संरक्षण समूहबाट सुरु भएको संस्था २०५८ सालमा महिलाहित बचत तथा ऋण सहकारी संस्थाका रूपमा दर्ता भएको थियो ।

ऋण बचतमा केन्द्रित भएको सहकारी अहिले घरेलु उद्योग, व्यापार, पशुपालन र आय आर्जनसम्म फैलिएको अध्यक्ष खड्काको भनाइ छ ।

उनका अनुसार हाल सहकारीबाट २० हजारदेखि २ लाखसम्म विना धितो कर्जा लगेर महिलाहरूले फर्निचर, पशुपालन, किराना पसल, कस्मेटिक, टेलर्स, फेन्सी र जुत्ता उद्योगमा लगानी गरेका छन् । यिनै व्यवसायबाट उनीहरूले आफ्नो आर्थिक विकास गरेका छन्।

प्रतिक्रिया दिनुहोस्