६ जेष्ठ २०८१, आईतवार

 

नेपाल बंगलादेश बैंकको खुदनाफा ८४.१६ प्रतिशतले बढ्यो

गत आर्थिक वर्षमा नेपाल बंगलादेश बैंकको खुदनाफा ८४.१६ प्रतिशतले बढेको छ । आर्थिक वर्ष ०७७–०७८ मा बैंकले २ अर्ब २९ करोड २५ लाख रुपैयाँ खुदनाफा गरेको छ ।

अघिल्लो वर्ष बैंकले १ अर्ब २४ करोड ४८ लाख रुपैयाँ खुदनाफा गरेको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष खुदनाफा १ अर्ब ४ करोड ७७ लाख रुपैयाँले बढेको बैंकले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।

उक्त नाफाबाट बैंकले सेयरधनीहरूलाई १ अर्ब ४७ करोड ५२ लाख रुपैयाँ लाभांश वितरण गर्न सक्नेछ । बैंकको निष्क्रिय कर्जा घटेपछि नाफा बढेको हो ।

निष्क्रिय कर्जा घटेर १.५५ प्रतिशतमा झरेको छ । अघिल्लो वर्ष यस्तो कर्जा २.८९ प्रतिशत थियो । निष्क्रिय कर्जा असुली गरेपछि नाफामा बढोत्तरी आएको हो । अघिल्लो वर्ष ८० करोड १५ लाख ३५ हजार रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज असार मसान्तसम्ममा २७ करोड १५ लाख ७ हजार रुपैयाँ असुली भएको छ ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी घटेको छ भने गैरसञ्चालन आम्दानी बढेको छ । गैरसञ्चालन आम्दानी बढेकाले पनि यसको खुद नाफा बढ्न सहयोग पुगेको हो ।

बैंकको प्रतिसेयर आम्दानी बढेर २५ रुपैयाँ ४६ पैसा पुगेको छ। असार मसान्तसम्म बैंकको प्रतिसेयर नेटवर्थ १७० रुपैयाँ ६५ पैसा पुगेको छ । बैंकको ब्याज आम्दानी घटे पनि नाफा भनेको बढेको छ ।

गत वर्ष बैंकले २ अर्ब ६३ करोड १२ लाख रुपैयाँ खुदब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष २ अर्ब ८४ करोड ४७ लाख रुपैयाँ खुदब्याज आम्दानी गरेको थियो । बैंकको सीसीडी रेसियो ६७.३७, निक्षेप लागत ५.४९, आधारदर ७.४१ र स्प्रेडदर ३.५५ प्रतिशत छ ।

बैंकले ८७ अर्ब १२ करोड निक्षेप परिचालन गरी ६८ अर्ब ४८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । सञ्चित कोषमा ४ अर्ब ७६ करोड रुपैयाँ जम्मा भएको छ ।

प्रतिक्रिया दिनुहोस्