६ जेष्ठ २०८१, आईतवार

 

इजरायल रोजगारीमा जानका लागि १६ सय जना छानिए

वैदेशिक रोजगार विभागले इजरायलमा केयर गिभरमा जान इच्छुक श्रमिकमध्ये १६ सय जना सिफारिस गरेको छ। विभागले असोज ४ गतेदेखि ९ गतेसम्म लिएको अन्तर्वार्ताबाट १६ सय जना छनोट गरी दूतावासमा बुझाएको हो।

अन्तर्वार्तामा १८ सय ३ जना सहभागी थिए। तीमध्ये ११ सय २० जना महिला र ४८० जना पुरुष सिफारिस भएका हुन्। नेपाली दूतावासमार्फत पपुलेसन इमिग्रेसन एण्ड बोर्डर अथोरोटी अफ इजरायल (पिआइबिए) ले एक हजार जना कामदार छनोट गर्नेछ।

गत साउन १२ गते प्रकाशित गरिएको मागअनुसार ९ हजार ६९९ जनाले आवेदन दिएका थिए। पहिलो चरणको भाषा परीक्षमा ६ हजार ३१७ जनामध्ये २ हजार ३९ जना पास भएका थिए।

सिफारिसमा परेकालाई इजरायलले कम्प्युटर प्रणालीमार्फत ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष छनोट गर्नेछ। इजरायल जाने श्रमिकले हप्तामा ४२ घण्टा काम गर्नुपर्ने हुन्छ।

नेपाल सरकार र इजरायल सरकारबीच २०७६ असोज १४ गते सम्पन्न श्रम सम्झौताअनुसार इजरायलका दीर्घकालीन सुुसारेका लागि नेपाली सहायक कामदार पठाउन लागेको हो। सरकार टु सरकार (जीटुजी) मार्फत इजरायलमा केयरगिभर, कृषि, होटल र रेस्टुरेन्ट, निर्माणलगायत क्षेत्रमा नेपालीलाई रोजगारीको अवसर दिनेछ।

सुरुमा एक वर्षको करार र ५ वर्षसम्म थप गर्न सकिनेछ । इजरायल जानका लागि अनुमानित १ लाख ६५ हजार ७०० बराबरको खर्च श्रमिक आफैंले व्यहोर्नुपर्नेछ।

 

प्रतिक्रिया दिनुहोस्