२ जेष्ठ २०८१, बुधबार

 

बागलुङमा महिला शिक्षाको जग खनेकी श्रेष्ठको निधन

बागलुङस्थित कालिका कन्या माध्यमिक विद्यालयकी संस्थापक प्रधानाध्यापक चन्द्रकुमारी श्रेष्ठको निधन भएको छ । ९९ वर्षीया श्रेष्ठको बुधबार राति काठमाडौंमा निधन भएको परिवारले जनाएको छ ।

उनको हिजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको बागलुङ समाज कल्याण केन्द्र काठमाडौंकी अध्यक्ष रसुमिला श्रेष्ठले बताइन् । ‘माइली मास्टर्नी’भनेर समेत चिनिने श्रेष्ठले महिलाहरूलाई पनि शैक्षिक ज्ञान दिनुपर्छ भनेर ६ दशकअघि कालिका कन्या मावि स्थापनाको अगुवाइ गरेकी थिइन् । उनले विक्रम संवत् २०१० साउन १० बाट स्थानीय महिलाहरू भेला गरी पढाउन सुरु गरेकी थिइन् ।

श्रेष्ठले महिला शिक्षाको अभियान थाल्नुअघि बागलुङमा महिलालाई विद्यालय पठाउने चलन थिएन । बागलुङका अगुवा शैक्षिक अभियन्ताहरूका अनुसार श्रेष्ठले सुरुमा स्थानीय हरिहर श्रेष्ठको गोठमा र त्यसपछि बुद्ध विहारमा कक्षा सञ्चालन गरेकी थिइन् ।

२०१५ सालमा तत्कालीन राजा महेन्द्र र प्रधानमन्त्री बीपी कोइराला बागलुङ आउँदा उनले विद्यालय निर्माणका लागि कारागारको जग्गा मागिन् । सोही जग्गामा श्रेष्ठले २०१८ सालमा भवन बनाई विद्यालय स्थापना गरेकी हुन् ।

उनको जन्म १९७९ सालमा बागलुङ नगरपालिका–३ कम्पुटोलमा भएको थियो

प्रतिक्रिया दिनुहोस्