८ जेष्ठ २०८१, मंगलवार

 

तिहारको चौँथो दिन आज गाई पूजा

- बागलुङको पञ्चकोट र पर्वत धाईरिङको गण्डकी गोपाल गौशालामा भक्तजनको भिड

कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो ।

बागलुङको पञ्चकोट र पर्वतको धाईरिङमा रहेको गण्डकी गोपाल गौशालामा विहानै देखी गाईको पूजा गर्ने भक्तजनको भिड लागेको छ ।

बागलुङ नगरपालिका –५ मालिकामा रहेको गण्डकी गोपाल गौशालामा गाई तथा गोबर्धन पूजा गरिएको छ । गाउघरमा गाईहरु लोप हुदै गएको अवस्थामा गाई पूजा गर्नेको गोभक्तको बाक्लो उपस्थिति रहेको थियो छ ।

गौशालामा बागलुङ नगरपालिकाका विभिन्न वडाहरु तथा पर्वत र म्याग्दीका समेत गरि पाच सय भन्दावढि गोभक्तजनको उपस्थिति रहेको बागलुङ नगरपालिका–५का वडा अध्यक्ष शिवप्रसाद सापकोटाले बताए ।

गोभक्तहरुले चढाएको भेटी तथा आर्थिक सहयोगले यहाँका गाई हरुको पालन पोषण गर्दै आएको गौशाला व्यवस्थापन समितिले जनाएको छ । यसै अवसरमा आज ४ जना गौशालाका संस्थापक सदस्य समेत बनेको बताइएको छ ।

त्यस्तै पर्वतको जलजला गाँउपालिका ७ धाइरिङमा रहेको गण्डकी गोपाल गौशालामा पनि सयौको संख्यमा गोभक्तहरुको उपस्थितिमा गाई पूजा गरिएको गौशाला व्यवस्थापन समितिका अध्यक्ष राजु आचार्यले बताए ।

गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ ।

गाईको पूजा गरी आजका दिन मीठा मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहेपनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको स्वामी ऋषि प्रपन्नाचार्यले बताए ।

आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ ।

हलि एवं गोरु पूजा

वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजा आजा गरी मीठा मीठा खानेकुरा खान दिने प्रचलन छ । गोरुलाई देवाधिदेव महादेवको वाहन अर्थात् साँढेका रुपमा पनि पूजा गर्ने परम्परा छ । यसैगरी वर्षभर गोरु जोत्ने हलि एवं अन्य कृषि कर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठा मीठा परिकार खुवाइन्छ ।

गोवर्धन पूजा

 

आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाइ त्यसलाई गोवर्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवर्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो । कात्तिक शुक्ल प्रतिपदाका दिन यो पर्व मनाइन्छ । गोवद्र्धन पूजा प्रतिपदाका दिन सूर्योदय भएका दिन गर्नुपर्ने विधि रहेको छ ।

 

तस्वीर : कृष्ण सापकोटा

प्रतिक्रिया दिनुहोस्