७ जेष्ठ २०८१, सोमबार

 

ऐतिहासिक गोलकोत कोतघरको नेपाली सेनाद्वार जिर्णोद्वार सुरु

गलकोट । गलकोट नगरपालिका-३ मा रहेको ऐतिहासिक तथा धार्मिक पर्यटकीय गन्तव्य गोलकोत कोतघरलाई नेपाली सेनाले जिर्णोद्वार तथा मर्मत सम्भार गर्न सुरु गरेको छ ।

त्यहाँ रहेका पुराना हात हतियारको संरक्षणसँगै कोतघरको सम्वर्द्वन गरी पर्यटन प्रर्वद्वन गर्न कोतघर जिर्णोद्वार सुभारम्भ गरिएको गलकोट नगरपालिका वडा नं ३ का वडा अध्यक्ष एवं कोतघर संरक्षक फमबहादुर खत्रीले जानकारी दिनुभयो ।

वडा अध्यक्ष खत्रीका अनुसार नेपाली सेनाको बजेट सहित स्थानिय जनश्रमदान गरि झण्डै १५ लाखको लागतमा कोतघर जिर्णोद्वार सुरु भएको हो ।

पुरानो कोत घर जिर्ण बन्दै गएकोले कोतघरको संरक्षण सम्वर्द्वन गर्ने उद्देश्यले जिर्णोद्वार गर्न लागिएको गोलकोत मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सन्त बहादुर खत्रीले बताउनुभयो ।

नेपाली सेनाको द्रुत प्रभाव परियोजना (क्युआइपी) जनहित कार्यक्रम अन्तर्गत गलकोट नगरपालिकाले तयार गरेको प्राविधिक स्टिमेट अनुसार ९ लाखको लागतमा जिर्णोद्वार कार्य अगाडी बढाईएको श्री मेहर गण घोडाबाँधे बागलुङका प्रमुख सेनानी धन रानाले जानकारी दिनुभयो ।

कोतघरमा जिर्णोद्वार तथा मर्मत सम्भारमा राख्नका आवश्यक पर्ने सामग्रीका लागि वडा कार्यालय र गोलकोत मन्दिर व्यवस्थापन समितिसँग समन्वय गरि काम थालनी गरिएको क्याप्टेन दुर्गाबहादुर थापाले बताउनुभयो ।

गोलकोत घरमा रहेका देवताको क्षमा पूजा गरि जिर्णोद्वार कार्य थालिएको गोलकोत मन्दिर व्यवस्थापन समितिका सचिव थम्मन थापा सन्देशले जानकारी दिनुभयो ।

गोलकोत कोतघर घुम्न आउने पर्यटकलाई सहजै जानकारी दिने उद्देश्यले कोतघरमा हतियारका साथै पुर्खाले अङ्ग्रेजसँग लड्दाका बेला प्रयोग भएका सामग्री राखिने सचिव थापाले बताउनु भयो । कोतघर जिर्णोद्वारमा अहिले नेपाली सेनाको २५ सदस्यीय टोलीले काम गरिरहेको छ ।

नागरिक सैनिक सम्बन्ध सुदृढ गर्न र जनताको आवश्यकतामा प्रत्यक्ष सहयोग गर्न नेपाली सेनाले समय समयमा यस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्