२ जेष्ठ २०८१, बुधबार

 

शैक्षिक सुधारको लागि शिक्षा ऐन तत्काल आउँछ : शिक्षा मन्त्री पौडेल

नेपाल सरकारका शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देबेन्द्र पौडेलले शिक्षा ऐन छिटै आउने बताएका छन् । उनले ऐनको ड्राफ्ट भएको र संसद अधिवेसन बस्ने बित्तिकै आउने गरी तयारी भएको बताए ।

प्रेस सेन्टर नेपाल, बागलुङ शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा आएका पौडेलले शिक्षा ऐन नभएकै कारण शिक्षा क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको बताए । उनले विद्यालय तथा नेपालको सार्वजनिक शिक्षामै सुधार गर्न आवश्यक भएको र सोको लागि सबै प्रकारका तयारी भएको उनको भनाइ छ ।

शिक्षक महासंघको माग अनुसार मन्त्रीकै संयोजकत्वमा गठन भएको १४ सदस्यीय समितिले शिक्षा क्षेत्र सुधारका लागि काम गरेको उनले बताए । ‘मेरे संयोजकत्वमा शिक्षा क्षेत्र सुधार गर्न कार्यदल बनाएका छौं, हामीले गुणस्तरीय शिक्षाका लागि आवश्यक पर्ने सबै सूचक लागू गर्न खोज्दैछौं’ उनले भने, ‘शिक्षकहरुका माग पुरा गर्ने र शिक्षामा रहेका बेथिती अन्त्य गर्ने हाम्रो लक्ष छ ।’

१७ प्रकारका शिक्षकलाई मिलाएर कक्षा कोठामा बस्ने र गुणस्तरीय शिक्ष दिने व्यवस्था गर्ने उनले योजना सुनाए ।उनले वाल शिक्षाका शिक्षकले तलब अनिवार्य बढ्नुपर्ने बताए ।

केही पालिकामा अझै नपाएको कुरा आएको भन्दै राज्यको नीति सबैले मान्नुपर्ने र श्रम ऐन पालना गर्न सरकार प्रतिवद्ध रहेको पनि उनको धारणा थियो । उनले शिक्षक दरबन्दी मिलान मार्फत शिक्षक र विद्यार्थी अनुपात मिलाउने काम भैरहेको समेत बताए ।

केन्द्रीय तहमा पनि धेरै सुधारका काम थालेको दावी गरे । जमलमा केन्द्रीय पुस्तकालय बनाउने, शिक्षक सेवा नियमावली बनाउने र शिक्षक अस्पताल बन्ने कुरा आफ्नै पालामा थालिएको समेत उनको दावी थियो ।

जिल्ला तहमा रहेको शिक्षा विकास तथा समन्वय इकाइ र पालिकाको समन्वय र सम्बन्ध राम्रो बनाउन पनि पहल गरिने उनको भनाइ छ ।

सरकारले तीनै तहको निर्वाचनको पनि तयारीमा जुटिसकेको पौडेलले जानकारी दिए ।कार्याक्रम प्रेस सेन्टर बागलुङका उपाध्यक्ष संजन सिंहको अध्यक्षता र सचिव अनिश खातीको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्