२० बैशाख २०८१, बिहीबार

 

बागलुङको दुर्गम गाउँ रणसिंहकिटेनीमा फोरजी सेवा

बागलुङ टेलिकमले फोरजी सेवा विस्तार गरेपछि सदरमुकाम बागलुङ बजारबाट झन्डै २८ कोस पश्चिममको विकट गाउँ रणसिंहकिटेनीका बासिन्दाले राहत महसुस गरेका छन् ।

दस वर्षअघि नै मोबाइल सुविधा पुगे पनि राम्ररी इन्टरनेट चलाउन नपाउँदा उनीहरूले समस्या झेल्दै आएका थिए । बडिगाड गाउँपालिका–४ जलजला र वडा नं ८ रणसिंहकिटेनीको सिमाना बेतथलाको धुरीमा २५ मिटर अग्लो टावर बनाई फोरजी सेवा सञ्चालन गरिएको नेपाल टेलिकम बागलुङका प्रमुख तथा वरिष्ठ इन्जिनियर केशव शर्माले जानकारी दिए ।

टेलिमकले उक्त स्थानमा २०६७ जेठ देखि पहिलो पटक टुजी सेवा शुभारम्भ गरेको थियो । २०६८ मा थ्रीजी सेवा थप गरेको टेलिकमले सेवाग्राहीलाई उच्च गतिको इन्टरनेट डाटा सर्भिस र गुणस्तरीय भ्वाइस सेवा दिने गरी सोमबारदेखि चौथो पुस्ताको मोबाइल सेवा प्रदान गरेको कार्यालय प्रमुख शर्माले बताए ।

‘ग्रामीण तथा विकट गाउँका नागरिकलाई सहज रूपमा सञ्चार सेवाको पहुँचमा जोड्न उच्च गतिको इन्टरनेट डाटा सर्भिस फोरजी र गुणस्तरीय भ्वाइस सेवा भोल्टी सञ्चालनमा ल्याइएको हो,’उनले भने ।

यसभन्दा पहिले उक्त स्थानमा १८ मिटरको पोल टावरबाट टेलिकमले टुजी र थ्रीजी सेवा प्रदान गर्दै आएको थियो । बेतथला धुरी समुद्री सतहदेखि २५ सय मिटरको उचाइमा छ ।

फोरजी सेवा शुभारम्भ भएपछि बडिगाड गाउँपालिका–४ जलजला, वडा नं ७ भिमगिठे र वडा नं ८ रणसिंहकिटेनीसँगै छिमेकी जिल्ला गुल्मीको मुसिकोट नगरपालिका, मदाने गाउँपालिकाका अधिकांश भूभागका बासिन्दा प्रत्यक्ष लाभान्वित भएको ८ नम्बर वडाध्यक्ष यम बहादुर श्रीस थापाले बताए ।

‘गाउँमा इन्टरनेट सुविधा नहुँदा साह्रै समस्या झेल्नुपरेको थियो, टेलिकमले फोरजी सञ्चालनमा ल्याएपछि सजिलो भएको छ,’ उनले भने । यसअघि स्वास्थ्य चौकी, किटेनी मावि र वडा कार्यालयमा निजी इन्टरनेट सेवा भए पनि भरपर्दो नभएकाले अनलाइनबाट गर्नुपर्ने काम प्रभावित हुने गरेको उनको भनाइ छ । ‘पहिले नेटवर्क सिग्नल खोज्न डाँडातिर धाउनु पर्ने बाध्यता थियो ।

अहिले गाउँघरमै बसेर उच्च गतिको इन्टरनेट र गुणस्तरीय भ्वाइस कलसहितको फोरजी सुविधा पाउँदा खुसी छौं,’ स्थानीय राजेन्द्र श्रीसले भने ।

फोरजी सेवा सञ्चालनमा आएसँगै त्यस क्षेत्रका नमस्ते मोबाइल प्रयोगकर्ताले तीव्र गतिको ‘डाटा’ र ‘भ्वाइस’ दुवैमा गुणस्तरीय सेवा पाउन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्