५ जेष्ठ २०८१, शनिबार

 

दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दै

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । दिउँसो १ बजे बस्ने संसद बैठकअघि सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

कार्यव्यवस्था परामर्श समितिले प्रतिनिधि सभा बैठकका कार्यसूची तय गर्दछ । आज बिहान साढे ११ बजे बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रतिनिधिसभा बैठकले केही अध्यादेशहरु स्वीकृत गर्ने र समितिका सदस्यहरुको नामावली हेरफेर गर्नेबारे छलफल हुने संसद सचिवालय स्रोतले बतायो ।

नवौं अधिवेशनमा सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक नै नराखेको भनेर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आलोचना गर्दै आएको थियो । अहिलेको दशौं अधिवेशनमा भने सभामुखले नियमित रुपमा कार्यव्यवस्थाको बैठक राख्दै आएका छन् । यसअघि गत मंसिर २८ गते र पुस ६ गते पनि कार्यव्यवस्थाको बैठक बसेको थियो ।

आफ्ना सांसदहरुलाई गरेको कारबाहीलाई सभामुख अग्नि प्रसाद सापकोटाले मान्यता नदिएको विरोधमा संसदमा विरोध जारी राखेको नेकपा एमालेले कार्यव्यवस्था परामर्श समितिको बैठकमा भने सहभागिता जनाउँदै आएको छ । तर, एमाले नेताहरु आफ्ना कुरा सुरुमै राख्ने र बाहिरिने गरेका छन् । यसबाट सभामुख अग्नि सापकोटाले असन्तुष्टि जनाएका छन् ।

मंगलबारको बैठकमा पनि एमाले प्रमुख सचेतक विशाल भट्टराई, कृष्णभक्त पोखरेल र लालबहादुर थापा सहभागी थिए । उनीहरु अघिल्लो पटकको बैठकमा जस्तै सुरुमा आफ्ना कुराहरु राखेर बाहिरिए । बैठकबाट बाहिरिंदै गर्दा सभामुख सापकोटाले अरुका कुरा पनि सुन्ने धैर्यता गरिदिन आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्