५ जेष्ठ २०८१, शनिबार

 

बागलुङको गलकोट नगरपालिकामा नेतृत्व चयन गर्न माओवादी केन्द्रलाई सकस

बागलुङको गलकोट नगरपालिकामा नेकपा माओवादी केन्द्रले नेतृत्व चयन गर्न सकेको छैन । गत मङ्सिर ११ गते गलकोटसहित देशभरका स्थानीय तहमा एकसाथ अधिवेशन सुरु गरेको थियो ।

महिना दिन बित्दासमेत न सहमतिमा नत निर्वाचनको प्रक्रियामै उक्त पार्टी जान सकेको छ । अधिवेशन चलेर बन्दसत्रमा पुगी अवरुद्ध बनेको नेतृत्व चयनको प्रक्रियामा माओवादी केन्द्र अझै अनिर्णित बनेको हो ।

त्यही कारण नेतृत्वप्रति गलकोटका नेता, कार्यकर्ता असन्तुष्ट छन् । नेतृत्वमा सहमति नभए प्रक्रियामा लैजानुपर्ने माग उठ्न थालेको छ । माओवादी केन्द्र, जिल्ला समन्वय समितिका संयोजक ज्ञामनाथ गैरे ‘अनिल’ले आकाङ्क्क्षी बढी भएपछि अध्यक्षलगायत पदाधिकारीमा तत्काल सहमति जुट्न नसकेको बताए ।

अधिवेशनले ६५ सदस्यीय नगर समिति भने सर्वसम्मत् निर्वाचित गरिसकेको छ । सोही समितिले पदाधिकारी चुन्ने विधानत व्यवस्था छ । समितिले अध्यक्ष, तीन उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष गरी सात पदाधिकारी चुन्नेछ ।

“नेताको कार्यव्यस्तता, प्रदेश अधिवेशनको तयारीलगायत कारणले केही ढिलो हुन पुगेकोले अब राष्ट्रिय सम्मेलनलगत्तै एउटा निर्णयमा पुग्ने संयोजक गैरेले बताए ।

पार्टीको नगर अध्यक्षमा हालका अध्यक्ष ललित श्रीस, तिलक उप्रेती, गङ्गा भुजेल, चन्द्रदत्त रेग्मी, राज थापा र चन्द्रबहादुर थापा ‘शिखर’ आकाङ्क्षी हुनुहुन्छ । सबै पार्टीको जिल्ला समन्वय समितिका सदस्यसमेत हुन् ।

नेतृत्वको दाबी गरिरहेका सबैजना पार्टीमा लामो पृष्ठभूमि भएका र योगदान गरेका व्यक्ति हुन् । जनयुद्धदेखि शान्ति कालका पछिल्ला दिनसम्म सबै पार्टीका जिम्मेवारीमा क्रियाशील छन् ।

पदाधिकारी सर्वसम्मत चुन्ने प्रयास असफल भएपछि महिनौसम्म अधिवेशन स्थगित हुनुलाई कार्यकर्ताले नेतृत्वको असफलताको रुपमा लिएका छन् । गलकोट जिल्लामा तुलनात्मक रुपमा कम्युनिष्ट जनमत बढी भएको क्षेत्र हो ।

अघिल्लो चुनावमा प्राप्त मतका आधारमा हेर्दा त्यहाँ नेपाली कांग्रेसपछि दोस्रो ठूलो दलका रुपमा माओवादी केन्द्र क्रियाशील छ । त्यसपछि अन्य वाम दल छन् । गत स्थानीय चुनावमा माओवादी केन्द्रले त्यहाँका दुई वडा मात्र जित्न सफल भएको थियो ।

सही नेतृत्वको छनोटसँगै सङ्गठनको रुपान्तरण र सुदृढीकरण नगरे गलकोटमा पार्टी कमजार हुँदै जाने चिन्ता कार्यकर्ता तथा शुभेच्छुकमा छ । जिल्लाका अन्य नौ स्थानीय तहमा भने यसअघि नै अधिवेशनबाट नयाँ नेतृत्व आएको छ ।

टोल समितिका भेला, वडा, पालिकाहुँदै प्रदेश तहका अधिवेशन सकेर माओवादी केन्द्र राष्ट्रिय सम्मेलनमा होमिएको छ । यही पुस ११ देखि १३ गतेसम्म काठमाडौँमा राष्ट्रिय सम्मेलन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्