२३ बैशाख २०८१, आईतवार

 

पराजित भएका तीन जना कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत

नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा थप तीन जना मनोनीत भएका छन्।

कांग्रेस सभापति शेरबहादुर देउवाले जीवनबहादुर शाही, प्रदीप पौडेल र कल्याणकुमार गुरुङलाई केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन्। शाही सहमहामन्त्रीमा, पौडेल महामन्त्रीमा र गुरुङ सभापतिमा पराजित भएका थिए।

कांग्रेसको विधान अनुसार, आइतबार तीनै जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनाएका छन्।

यसअघि देउवाले नेता रामचन्द्र पौडेल सहित १० जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए। कांग्रेस विधान अनुसार, सभापतिले ३३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने व्यवस्था छ।

कांग्रेसको १४औं महाधिवेशनबाट पदाधिकारी सहित १३४ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित भएको थियो। सभापति देउवाले दुई पटक गरी १३ जनालाई मनोनीत गरेसँगै १४७ सदस्यीय केन्द्रीय कार्यसमिति बनेको छ।

प्रतिक्रिया दिनुहोस्