२ जेष्ठ २०८१, बुधबार

 

९ वर्षीय बालकद्वारा जन्म दिनको उपलक्ष्यमा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

गलकोट नगरपालिका वडा नं ७ मल्म हाल जापानमा रहेका ९ वर्षीय बालकले आफनो जन्मदिनको सुखद अवसरमा जेहेन्दार तथा विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरेका छन ।

सामाजिक संस्था घुम्टे युवा परिवार जापान शाखाका उपाध्यक्ष, युवा समाजसेवी एवं उद्यमी दुर्गा थापाका छोरा बिनम्र थापाले गलकोट नगरपालिका ७ मल्म स्थित प्रगति आधारभुत विद्यालयमा अध्ययनरत ८ जना विद्यार्थीलाई २० हजार मूल्यको शैक्षिक सामाग्री सहयोग प्रदान गरेको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष राम बहादुर थापाले जानकारी दिए। विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरणले उनीहरुको मनोबल उच्च हुने शिक्षक अभिभावक संघका संयोजक लोक बहादुर थापाले बताए ।

प्रवासमा रहेका थापाले जन्मदिनमा फजुल खर्च गर्नुभन्दा विद्यार्थीको भविष्यको लागि परोपकारी कार्य गरौं भन्ने हेतुले जेहेन्दार र विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरेको सहयोगदाता बिनम्र थापाले बताए । विद्यार्थीहरुलाई कपी, कलम, क्याल्कुलेटर, ज्यामिती बक्स सहित शैक्षिक सामाग्री उपलब्ध गराइएको थियो ।

थापाले प्रगति आधारभुत विद्यालयमा अध्ययनरत जेहेन्दार तर्फ विद्यार्थी कक्षा ७ का समिर चोखाल, समिता विश्वकर्मा, कक्षा ६ का सुवास थापा, कक्षा ४ का विवेक विश्वकर्मा, कक्षा ३ का सुवास केसी, कक्षा युकेजीका शिवान्या थापा, अश्मी विश्वकर्मा र कक्षा एलकेजीका प्रवेश परियारलाई उक्त शैक्षिक सामाग्री प्रदान गरिएको विद्यालयका प्रधानध्यापक तुल बहादुर थापाले भने ।

शैक्षिक सामाग्री सामाजिक संस्था घुम्टे युवा परिवारका अध्यक्ष थम्मन थापा सन्देशले विद्यार्थीलाई हस्तान्तरण गरेका थिए ।शैक्षिक सामग्री हस्तान्तरणपछि बोल्दै अध्यक्ष थापाले विद्यार्थीहरुलाई आगामी दिनमा शैक्षिक गुणस्तर प्रभावकारी बनाउनु पर्ने धारणा राखेका थिए ।

शैक्षिक सामाग्री सहयोगी थापाका पिता दुर्गा बहादुर थापा विद्यालयका सहयोगदाता समेत हुनुहुन्छ । गलकोट नगरपालिका वडा नं ७ मल्म स्थायी घर भई जापानमा लामो समयदेखि कर्म गरिरहेका युवा समाजसेवी थापाले समय समयमा विभिन्न संघ संस्थाहरु सँगै समाजमा यस्तै परोपकारी कामहरुमा आर्थिक सहयोग गर्दै आईरहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्