विश्वब्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस कोभिड १९ को तेस्रो लहर समुदायस्तरमा फैलिएको समयमा कोरोनाबिरूद्व नयाँ खोप बुस्टरडोज बागलुङ जिल्लामा धमाधम लगाउन शुरू गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि कोभिडसिल र भेरोसिल खोप लगार्इ सकेका फन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मि ,सुरक्षाकर्मी ,जनप्रतिनिधि र संचारकर्मी लक्षित गरी बुस्टर डोज लगाउन शुरू गरिएको हो ।
स्वास्थ्य कार्यालय बागलुङका अनुसार बागलुङ सदरमुकाम लगायत १० वटै स्थानीय तहमा बुस्टर डोज लगाउन सुरु गरिएको हो । जिल्लाका हरेक स्थानीय तहको स्वास्थ शाखाले खोप लगाउने व्यवस्था रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघ २ गतेदेखि फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी ,सुरक्षाकर्मी ,जनप्रतिनिधि, एम्बुलेन्स चालक,पत्रकार लगायतलाई बुस्टर दिने घोषणा गरेपनि केही प्रवाधिक तयारी नभएको कारण केही दिन ढिलापछि मात्रै बुस्टर डोज लगाउन शुरू गरिएको बागलुङ नगरपालिको नगर स्वास्थ्य शाखाको सिनियर अहेव अधिकृत डिल्ली आचार्य बताए ।
पहिलो चरणमा स्वास्थ्यकर्मी, संचारकर्मी,सरसफाइकर्मी, एम्बुलेन्स चालक लगायतका अग्रपंतिमा खटिने नागरिक र दोस्रो चरणमा ६० वर्षमाथिका ज्येष्ठ नागरिक र रोगप्रतिरोधात्मक क्षमता कम भएका दिर्ध रोगीहरुलाई बुस्टर डोज दिने तयारी गरिएको बागलुङ नगर स्वास्थ्य शाखा प्रमुख राम प्रसाद खनाले नयाँ विश्वलाई बताए ।
स्वास्थ्य कार्यालय बागलुङका अनुसार अहिलेसम्म जिल्लामा १ लाख ४३ हजार ४ सय ८ जनाले पहिलो मात्रा र १ लाख २४ हजार ७ सय ६८ जानले दोस्रो डोज लगाएतका छन् ।
अहिलेसम्म जिल्लामा ३ लाख १६ हजार ८ सय ७८ डोज खोप आएको स्वास्थ्य कार्यलय बागलुङका खोप सुपरभाइजर राजु खत्रीले बताए । स्वास्थ्य कार्यलय बागलुङले खोप भण्डार केन्द्रको क्षमता विस्तार गरेसँगै जिल्लामा खोपको मात्रा बढेपछि सहज बन्दै गएको छ ।













































































































































































































