५ जेष्ठ २०८१, शनिबार

 

गण्डकी प्रदेशमा राष्ट्रियसभा निर्वाचनको तयारी पूरा, बुधबार बिहान ९ बजेदेखि मतदान

बुधबारका लागि तय गरिएको राष्ट्रियसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ । प्रदेश निर्वाचन कार्यालय पोखराका अनुसार मतदानका लागि कर्मचारी व्यवस्थापन, सुरक्षा प्रबन्ध, मतपत्र र मतदान केन्द्र व्यवस्थापनलगायतका सम्पूर्ण तयारी पूरा भएको छ । रत्नचोकस्थित प्रदेश निर्वाचन कार्यालय परिसरमा बुधबार बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ ।

कार्यालयप्रमुख एवं प्रमुख निर्वाचन अधिकृत हुमनाथ पराजुलीले मतदान सकिएपछि मतगणना सुरु हुने र भोलि नै नतिजा सार्वजनिक गरिने बताउनुभयो । उनले भने, ‘मतदानका लागि आवश्यक सम्पूर्ण तयारीको काम सकिएको छ । मतदान सम्पन्न भएपछि गणना सुरु गरेर भोलि नै अन्तिम परिणाम घोषणा गर्नेछौँ ।’

मतदानमा कार्यालयका कर्मचारीबाहेक २० जना कर्मचारी परिचालित हुने बताइन्छ । त्यसैगरी सुरक्षाका लागि ५० जना जनशक्ति परिचालित हुनेछ । मतदानका लागि प्रदेशसभा र स्थानीय तहको गरी दुई मतदान केन्द्र तोकिएको छ । यसैगरी कोरोना सङ्क्रमित मतदाताका लागि छुट्टै बुथको व्यवस्था गरी मतदानको प्रबन्ध मिलाइएको निर्वाचन अधिकृत पराजुलीले बताए ।

राष्ट्रियसभा निर्वाचनमा गण्डकीका तीन सिटका लागि सत्ता गठबन्धनबाट तीन र प्रतिपक्ष दल नेकपा एमालेबाट तीन गरी छ जना उम्मेदवार छन्। सत्ता गठबन्धनबाट अन्य समूहमा माओवादी केन्द्रका सुरेश आलेमगर, महिलातर्फ नेपाली कांग्रेसका कमला पन्त र दलिततर्फ माओवादी केन्द्रका भुवन सुनार उम्मेदवार रहेका छन् ।

नेकपा एमालेले अन्यतर्फ पुण्यप्रसाद पौडेल, दलिततर्फ अर्जुनकुमार सुनाम र महिलातर्फ लीला पोखरेल (थनेत) लाई उम्मेदवार बनाएको छ । कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेका अनुसार गण्डकीमा प्रदेशसभाका ५९ र ८५ स्थानीय तहका प्रमुख÷उपप्रमुख १७० जना गरी कूल २२९ मतदाता रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्