२६ बैशाख २०८१, बुधबार

 

बेसारले बजार पाएन, किसानहरु निराश

बहुउपयोगी बालिको रुपमा प्रयोग हुने बेसारले बजार नपाउँदा बागलुङ किसानहरु निराश बनेका छन । जिल्लाको बागलुङ नगरपालिकाको बलेवा क्षेत्र, विहुँ र गलकोट क्षेत्रमा उत्पादन भएको बेसारले बजार नपाउँदा किसानहरु बारीमै राख्न बाध्य भएका छन ।

कोरोनाको कहर सँगै यसको माग बढ्दो रहेता पनि बारीमा उत्पादन भएको अर्गानिक बेसारले भने अहिले बजार पाउन सकेको छैन । गत वर्ष देखी नै उत्पादन भएको बेसारले बजार नपाएको र यस वर्ष उत्पादन भएको बेसारको पनि राम्रो भाउ नपाउँदा बारीमै राख्न बाध्य भएको बागलुङ नगरपालिका–१४ नारायणस्थानका किसान बेदनिधि शर्मा बताउँछन ।

उनी मात्र नभई यस क्षेत्रका अन्य किसानले उत्पादन गरेको बेसारले मूल्य तथा बजार पाउन नसकेको गुनासो रहेको छ । यस क्षेत्रको बारीमा अन्य खेती भन्दा बेसार राम्रो फल्ने गरेको छ । अघिल्ला अघिल्ला वर्षमा भारतीय व्यापारीले खरिद गर्दै आएका थिए, गत वर्ष कोरोनाको कहर सँगै ति व्यापारी गाउँ छिरेका छैनन् अहिले बेसार बारीमै थन्किएको हो ।

गाउँघरमा मात्र थोरै मात्रामा किन्ने र धेरै उत्पादन भएको बेसारले बजार नपाउँदा उत्पादन भएको बेसार गाउँमा नै सस्तोमा बेच्नुपर्ने बाध्यता रहेको शर्मा बताउँछन । ‘गाउँघरमा एक मानाको १ सय रुपैयाँ विक्रि हुन्छ । शहरमा यसैलाई महंगो भन्छन ।

तर गाउँको उत्पादनमा कसैले ध्यान दिँदैनन् शर्माले भने,–‘हरेक वर्ष २,३ क्विन्टल उत्पादन ग¥यो बजार पाउँदैन बारीमै त्यसै कुहिएर जाने हुन्छ । बारीबाट निकालेको बेसारलाई प्रसोधन गरी बेच्नका लागि आधुनिक प्रविधिको मेसिन नहुँदा हातले नै सवै गर्नुपर्दा धुलो बेसार बनाउन समेत कठिन हुने शर्माले बताए ।

बेसारलाई सुक्खा स्थानमा राख्दा पनि ५,६ महिना सम्म कुहिँदैन । तर, बारीमै राख्नुपर्ने भएकोले झरीले कुहिन्छ की भन्ने किसानलाई चिन्ता छ । ‘मेहेनत गरेर फलायो, बेच्ने बेलामा कुहाएर फाल्नुपरेको छ,’ उनले भने, ‘राज्यले किनिदिने र सुरक्षित भण्डारण गरिदिने व्यवस्था भए राम्रो हुन्थ्यो ।’

बेसार हदेलो बारीमै राख्दा अर्को खेती समेत लगाउन नपाउने उनले गुनासो गरे । ‘हरेक घरमा दुईदेखि ५ क्विन्टलसम्म बेसार हदेलो फलाएका छौं, शर्माले भने,‘कहिले बजार पाइन्छ, कहिले बारीमै कुहिन्छ ।’ केही गाउँमा नै पिसेर विक्रि गरिन्छ केही आफन्तलाई सित्तैमा दिईन्छ ।’

बारीबाट निकालेर पुर्ण रुपमा तयार पारिएको बेसार बजारमा बेच्न सजिलो हुने र हदेलो नै खरिद गरेर पुन बेसार बनाउन झण्झटिलो हुने हुँदा व्यापारी अर्गानिक भन्दा पनि आयातित बेसार नै बेच्ने गरेको बागलुङ उद्योग बाणिज्य संघका सदस्य एवं किराना व्यवसायी गणेश लम्सालले बताए ।

लम्सालका अनुसार बारीबाट उठाएको हदेलोलाई पुन पखालेर यसलाई काट्ने र पिसनका लागि व्यवसायीले झण्झटिलो मान्ने हुँदा गाउँमा उत्पादन भएको बेसारले बजार पाउन नसकेको हो ।बागलुङ नगरपालिकाले भने गाउँमा उत्पादन भएका बस्तुको बजार व्यवस्थापनका लागि प्रत्येक शनिबार हाट बजारको व्यवस्थापन गरेको र त्यही ल्याएर किसानले उत्पादन गरेका बस्तु विक्रि गर्न सक्ने बागलुङ नगरपालिका कृषि शाखाका प्राविधिक लक्षुता बरुवालले बताए ।

नगदेबाली उत्पादन बढाउन किसानलाई अनुदान र प्राविधिक सहयोगको कार्यक्रम बनाएको छ । बजारीकरणका लागि वडा कार्यालय र नगरपालिकाले व्यवस्थापनको पाटोमा सहयोग गर्ने छ बरुवालले भनिन । अरू बालीको तुलनामा प्रतिहेक्टर बेसारको उत्पादकत्व पनि उच्च छ ।

प्रतिक्रिया दिनुहोस्