३ जेष्ठ २०८१, बिहीबार

 

धवलागिरि बहुमुखी क्याम्पसले मनायो ५९ औं वार्षिकोत्सव

धौलागिरि क्षेत्रकै जेठो तथा एक मात्रै आंगिक क्याम्पस धवलागिरि बहुमुखी क्याम्पसको ५९ औं वार्षिकोत्सव आइतबार सम्पन्न भएको छ ।कोरोना संक्रमणका कारण पढाइ अवरुद्ध भएकाले विद्यार्थी जम्मा गरेर गर्ने कार्यक्रम भने यो वर्ष भएन ।

वार्षिकोत्सवमा शिक्षक, विद्यार्थीका प्रतिनिधि र सरोकारवाला मात्रै बसेर मनाइएको क्याम्पस प्रमुख प्राध्यापक डा रामप्रसाद उपाध्यायले बताए ।वार्षिकोत्सवको अबसरमा प्रगति प्रतिवेदन पेश गर्दै उपाध्यायले क्याम्पसमा गुणस्तरीय शिक्षा दिन तयार रहेको बताए ।

उनले उच्च शैक्षिक संस्थाबाट उत्पादन भएका जनशक्ति योग्य र विश्व बजारले माग गरे अनुसारको बनाउन तयार भएपनि राज्यको साधनश्रोत, मानवीय श्रोत लगायतको बितरणबाट संभव नभएको बताए ।

‘हामी क्युएए प्रमाणपत्र पाउन शैक्षिक, भौतिक र आर्थिक तथा प्रशासनिक पक्षको सुधार र यथार्थ अवस्था पहिचान गर्न लागेका छौं’, उपाध्यायले भने, ‘तर अहिलेसम्म दक्ष जनशक्ति व्यवस्थापन नै चुनौती बनेको छ ।’ उनले आंशिक शिक्षकको माग पूरा गरेर दरबन्दी थप गर्न सकेमा पढाइको गुणस्तर अझै बढाउन सकिने बताए ।

विज्ञान र विविएतर्फ आकर्षण बढी भएपनि शिक्षक अभावले समूह विभाजन गर्न नसक्ने, पूर्णकालिन पढाइ संचालन अभावमा उत्तिर्णदर बढाउन नसक्ने अवस्था रहेको प्राध्यापकहरुले बताए । विश्वविद्यालयकै तथ्यांक र उत्तीर्णदर घटेकोले एउटा क्याम्पसमा कम हुनु स्वभाविक भएको त्रिभूवन विश्वविद्यालय सभाका सदस्य प्राध्यापक डा दिनबहादुर थापाले बताए ।

थापाका अनुसार पछिल्लो चार बर्षमा ७२ हजारबाट ७० हजार, ५१ ह्जार र ३० हजार बिद्यार्थीले मात्रै दिक्षान्त लिएको उल्लेख गरे । धवलागिरि बहुमुखी क्याम्पसमा पनि उत्तीर्ण दर घटिरहेको उनले चिन्ता व्यक्त गरे ।

वार्षिकोत्सवको अबसरमा अघिल्ला बर्ष संचालन गरिने खेलकुद तथा अन्य गतिविधि पनि यो वर्ष भएनन् । भब्य कार्यक्रमका साथ मनाइने सरस्वती पूजा पनि आइतबार मनाइएन । छिटफूट विद्यार्थी र शिक्षक बसेर मनाएको पूजा र वार्षिकोत्सवमा सहभागीले भने विद्यार्थीको आकर्षण भएका संकायमा स्थायी दरबन्दी बढाउनुपर्ने सुझाव दिए । साथै भौतिक अवस्था स्तरीय बनाउनुपर्ने, आकर्षण बढेका विषय पढाएर अन्यलाई हटाउनुपर्ने सुझाव पनि दिएका थिए ।

यो क्याम्पसमा मानविकी, व्यवस्थापन, शिक्षा र बिज्ञान संकायको पढाइ हुन्छ ।क्याम्पस व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका डा थापाको अध्यक्षता, सहायक प्रमुख हिरालाल रेग्मीको संचालन र हरिप्रसाद पाण्डेयको स्वागतमा सम्पन्न कार्यक्रममा बिद्यार्थी नेता, कर्मचारी र प्राध्यापकहरुले पनि क्याम्पसको बिकासका लागि आधुनिक र नविनतम प्रविधिमा आधारित शिक्षण बढाएर लैजान सकेमा क्याम्पसमा विद्यार्थी संख्या र उत्तीर्ण दर बढ्ने सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्