२ जेष्ठ २०८१, बुधबार

 

धवलागिरि बहुमुखी क्याम्पसको उच्च शिक्षा उत्तीर्णदर १३ प्रतिशत मात्रै

त्रिभुवन विश्वविद्यालयको आंगिक धवलागिरि बहुमुखी क्याम्पसमा परीक्षाफल खस्कँदै गएको छ । हरेक वर्ष विद्यार्थी भर्ना संख्यासँगै उत्तीर्णदर पनि घटेको हो ।

अधिकांश संकाय र तहमा १३ देखि २० प्रतिशत मात्रै उत्तीर्णदर रहेको क्याम्पस प्रमुख प्रा।डा। रामप्रसाद उपाध्यायले बताए । अन्तिम वर्षमा आइपुग्दा उत्तीर्ण दर केही बढी देखिए पनि औसतमा बर्सेनि बढीमा १६ प्रतिशत मात्रै रहेको हो । ‘विश्वविद्यालयमै उत्तीर्ण दर घटेकामा यहाँ पनि घटेको छ,’ उपाध्यायले भने, ‘यो राम्रो पक्ष भने होइन ।’

क्याम्पसको ५० प्रतिशत शिक्षण हिस्सा आंशिकको भरमा चलेको छ । शैक्षिक सत्र २०७५ मा २ सय ८२ विद्यार्थी उत्तीर्ण गरेको क्याम्पसले २०७६ मा २ सय २५ र २०७७ मा जम्मा ८८ जना विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् । व्यवस्थापन संकायको स्नातक पहिलो वर्षमा ५ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् ।

शिक्षा संकायमा ६ प्रतिशत, विज्ञान संकायको पहिलो वर्षमा १६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन् । हरेक वर्ष यहाँ २ हजार विद्यार्थी भर्ना हुने गरेका छन् । सेमेस्टर प्रणालीमा सञ्चालित बीबीएमा पनि पहिलो सेमेस्टरमा १७ प्रतिशत मात्रै उत्तीर्ण भएका हुन् ।

दोस्रो, तेस्रोमा बढेर ९३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको उपाध्यायले बताए ।विद्यार्थी संख्या पनि बर्सेनि घट्दो छ । मानविकी र शिक्षा संकायमा विद्यार्थी संख्या साह्रै न्यून भएको हो ।

‘कक्षामा उपस्थित भएरै पढ्ने चाररपाँच जना मात्रै हुन्छन्, तर उनीहरू उत्तीर्ण पनि भएका छन्,’ उपाध्यायले भने, ‘उच्च शिक्षामा पनि कक्षा छाड्ने दर ४० प्रतिशत बढी छ ।’ भर्ना भएकामध्ये फारम नभर्ने र भरेकाले परीक्षा नदिने बढिरहेको उनले बताए । स्नातकोत्तर तहमा एमबीएस, एमएड, मानविकीको समाजशास्त्र र नेपाली कक्षा छन् ।

प्रतिक्रिया दिनुहोस्