२६ बैशाख २०८१, बुधबार

 

पर्यटनलाई जिल्लाका धार्मिक क्षेत्रसँग जोड्नुपर्छ : पर्यटन मन्त्री कँडेल

गण्डकी प्रदेशका पर्यटन मन्त्री मणीभद्र कँडेलले बागलुङको पर्यटनलाई जिल्लाका धार्मिक क्षेत्रसँग जोड्नुपर्ने बताएका छन् । बागलुङमा पर्यटन तथा होटल व्यवसायीहरुका लागि आयोजित ३ दिने व्यवसायीक क्षमता अभिवृद्धि तालिमको उद्घाटन गर्दै कँडेलले यस्तो बताएका हुन् ।

मन्त्री मणीभद्र कँडेलले पर्यटन क्षेत्रको आकर्षणका लागि गुणस्तर र संख्यामा ध्यान दिन व्यवसायीहरुलाई सुझाव दिए । बागलुङमा पर्यटन आकर्षणका लागि स्तरिय सेवा र व्यवस्थापकिय क्षमता बढाउन पर्ने औंलाउदै होटल व्यवसायलाई मर्यादित बनाउनु पर्ने बताए । मन्त्री कँडेलले आगामी आर्थिक वर्षदेखि बागलुङमा पर्यटन कार्यालय र कम्पनी राजिष्टरको कामहरु घरेलु तथा साना उद्योग विकास कार्यालयबाट दिने तयारी भैरहेको बताए ।

कार्यक्रममा होटल व्यवसायी महासंघका केन्द्रीय सदस्य बावुराम शर्मा,उद्योग वणिज्य महासंघका पूर्वकेन्द्रीय सदस्य निर्माण कुमार श्रेष्ठ, प्रशिक्षक प्रकाश रेग्मी,स्वामी ऋषी प्रपन्नाचार्य लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

होटल व्यवसायी महासंघ गण्डकी प्रदेश समितिका अध्यक्ष अर्जुन चोखालको अध्यक्षता, होटल तथा रेष्ट्रुरेन्ट व्यवसायी संघ बागलुङका उपाध्यक्ष ताल बहादुर कुवरको स्वागत र होटल व्यवसायी महासंघ गण्डकी प्रदेश समितिका महासचिव देवेन्द्र लम्सालको संचालनमा सम्पन्न भएको थियो ।

होटल व्यवसायी महासंघ गण्डकी प्रदेशको अयोजना नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सहयोग र होटल तथा रेष्ट्रुरेन्ट व्यवसायी संघ बागलुङ र बागलुङ पर्यटन विकास समिति बागलुङको स्थानिय व्यवस्थापनमा आयोजित ३ दिने तालिममा जिल्लाका होटल व्यवसायीहरुको सहभागिता रहेको छ ।

कोरोनाका कारण धरासायी बनेका बागलुङका होटल व्यवसायलाई व्यवस्थित बनाउनको लागी तालिम आयोजना गरेको होटल व्यवसायी महासंघ गण्डकी प्रदेश समितिका अध्यक्ष अर्जुन चोखालले बताए । बागलुङ पर्यटन व्यवसायका लागि उर्भर रहेको भन्दै यसको प्रवद्धर्नमा तालिम उपयोगी बन्ने बताए । पर्यटन विकासका लागि होटेल तथा पर्यटन व्यवसाय विकास र विस्तारमा सरकारले सहयोग गर्न आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्