२४ बैशाख २०८१, सोमबार

 

रेशमा बस्तीपिच्छे सिँचाइ आयोजना

“सिँचाइका लागि पानीको ठूलो स्रोत भएको यो आयोजनाले रेशका धेरै ठाउँलाई समेट्छ”, उनले भने, “चालू आवमा पनि थप रु १० लाखको बजेटबाट आयोजना विस्तारको काम हुँदैछ ।” जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयको बजेटमार्फत दुई वर्षअघि उक्त आयोजनाको काम सुरु गरिएको थियो ।

पहिलो वर्ष रु २० लाख, गतवर्ष रु ३० लाखको काम भएको उपभोक्ता समितिले जनाएको छ । सोही ठाउँमा विसं २०६८ मा पुरानो सिँचाइ कुलो मर्मत गर्ने क्रममा सुख्खा पहिरामा पुरिएका स्थानीय पाँच महिलाले ज्यान गुमाउनुपरेको थियो । अहिले बनेका आयोजनाबाट सिँचाइ सहज भएपछि गाउँले पनि खुसी छन् ।

रेशको अर्को सिँचाइ आयोजना हो, दामगाडे । खरदाङको मुहानबाट एक हजार ५०० मिटर पाइप बिच्छयाएर सिँचाइका लागि पानी ल्याइएको उक्त आयोजनाका उपभोक्ता रामचन्द्र गौतमले बताए । आयोजनाबाट भुनिया, आलखेत, आँटारी हुँदै जिरेदीको फाँटसम्म सिँचाइ पुग्ने उनको भनाइ थियो ।

उपभोक्ता गौतमका अनुसार सिँचाइ आयोजनाबाट पानी मिल सञ्चालकले पनि लाभ लिइरहेका छन् । दामगाडे आयोजनाको मुहानबाटै अर्को सिँचाइ आयोजना पनि सञ्चालित छ । उक्त आयोजना भने स्थानीयवासीको लगानी र जनश्रमदानबाट बनाइएको हो । करिब एक हजार मिटर पाइपलाइनको यस आयोजनाबाट दामगाडेदेखि आरिमपाटासम्म सिँचाइ सुविधा पुग्छ ।

यस्तै सञ्चालनमा रहेको गाउँपालिकाको रु ५० लाख बजेट निर्मित  पल्लाचौरी-डोटेस्वाँरा-बिरौटा सिँचाइ आयोजनाबाट रामपास, सिम्लेलगायतका ठाउँमा सिँचाइ सुविधा पुर्याइएको छ । रेशमा थप अरु आयोजनाका लागि पनि प्रस्ताव अघि बढाइएको वडाध्यक्ष प्रेम लामिछानेले बताए ।

बनिसकेका र निर्माणाधीन आयोजनाबाट बस्ती छेउछाउका बारीसँगै बेसीको फाँटमा बाह्रैमास सिँचाइ सुविधा पुग्ने उनको भनाइ थियो । “रेशका एक हजार १०० घरधुरीले नै सिँचाइ आयोजनाबाट लाभ पाउँछन्”, वडाध्यक्ष लामिछानेले भने, “वर्षौंदेखि रेशका बासिन्दाले भोग्दै आएको सिँचाइको असुविधा अन्त्य हुँदैछ ।”

प्रतिक्रिया दिनुहोस्