६ जेष्ठ २०८१, आईतवार

 

बागलुङलाई व्यवसायीक गन्तव्य बनाउन बैंकिङ क्षेत्रको भूमिका महत्वपूर्ण हुन्छ : मेयर श्रेष्ठ

बागलुङ –  नेपाल बैंक लिमिटेड बागलुङ शाखाको नवनिर्मित भवनको उद्घाटन तथा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान तथा बधाई कार्यक्रम सम्मन्न भएको छ । कार्यक्रममा बागलुङ नगरपालिकाका मेयर बसन्त कुमार श्रेष्ठले नेपाल बैंक इतिहास बोकेको र धौलागिरि अंचलका बासिन्दालाई सेवा दिएको पुरानो बैक भएको बताए ।

बागलुङ जिल्लालाई आर्थिक बजारको रुपमा चलायमान बनाउन र बागलुङ जिल्लालाई व्यवसायीक गन्तव्यको रुपमा विकास गर्न बैकिङ क्षेत्रको महत्वपूर्ण भूमिका हुने मेयर श्रेष्ठले बताए ।

कार्यक्रममा नेपाल बैंक लिका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी, प्रमुख जिल्ला अधिकारी रमेश ढकाल, बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारी, धौलागिरि प्राविधिक शिक्षा प्रतिष्ठान बागलुङका अध्यक्ष श्रीप्रसाद शर्मा, काठेखोला गाउँपालिकाका उपाध्यक्ष तिलक थापा, नेपाल बैंकका गण्डकी प्रदेश प्रमुख प्रतिभा श्रेष्ठ र नेपाल बैंक लि बागलुङ शाखाको प्रबन्धक अमृत सेवाले मन्तव्य व्यक्त गरेका थिए ।

नेपाल बैंक लि बागलुङ शाखाको प्रबन्धक अमृत सेवाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन नेपाल बैंक लि बागलुङ शाखाका कर्मचारी प्रदिप पौडेलले गरेका थिए । विसं २०१७ सालमा नेपाल बैंक लिमिटेडले बागलुङ बजारमा नौविसे टोलको नारायण श्रेष्ठ घरबाट सेवा आरम्भ गरेको थियो ।

बैंकको आगमनपछि साहुहरुले सुन, नागकिता, पेन्सन पत्ता राखेर धेरै व्याज लिने प्रवृत्तिमा कमि आएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्