६ जेष्ठ २०८१, आईतवार

 

नेपाल बैंक बागलुङ शाखाले नयाँ भवनबाट सुरु गर्यो सेवा

बागलुङ – नेपाल बैंक लिमिटेड बागलुङ शाखाको नवनिर्मित भवनको उद्घाटन भएको छ । बागलुङ नगरपालिका वडा नं ३ राधाकृष्ण टोलमा रहेको नयाँ भवनको बागलुङ नगरपालिकाका मेयर बसन्त कुमार श्रेष्ठ र नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

बैंकमा १९ जना कर्मचारी कार्यरत छन् । डेभ एण्ड सायर तिलक जेबी निर्माण कम्पनीले ६ आना एक पैसा जग्गामा तीन तले नवनिर्मित भवन २ करोड ३६ लाख ४२ हजार रुपैयाँ लागतमा निर्माण सम्पन्न गरेको नेपाल बैंक लि बागलुङ शाखाका प्रबन्धक अमृत सेवाले नयाँ विश्वलाई जानकारी दिए ।

बैंकको भवन जीर्ण भएपछि चार वर्ष अघि भाडाका घरमा सरेको थियो ।सुविधा सम्पन्न भवन भएपछि बैंकमा आउने सेवाग्राहीलाई धेरै सहज हुने बैंकले जनाएको छ ।बैंकले २१ हजार बढी ग्राहकलाई सेवा दिइरहेको छ । नयाँ भवनबाट नयाँ एटीएम सेवा, लकर सेवा र ग्राहकलाई पार्किङ सुविधासहितको सेवा दिएको बैंकले जनाएको छ ।

विसं २०१७ साल माघ ४ गते नेपाल बैंक लिमिटेड बागलुङ शाखाले बागलुङ बजारको नौविसे टोलको नारायण श्रेष्ठको घरबाट वित्तीय सेवा आरम्भ गरेको थियो ।पछि बैंकले राधाकृष्ण टोलबाट सेवा दिन थालेको थियो । बैंकको आगमनपछि साहुहरुले सुन, नागकिता, पेन्सन पत्ता राखेर धेरै व्याज लिने प्रवृत्तिमा कमि आएको थियो ।

नेपाल बैंक लि बागलुङ शाखा घ वर्गको शाखाको रुपमा दुई पटक उत्कृष्ट शाखाबाट सम्मानित भइसकेको छ । बागलुङ सदरमुकामसहित गलकोट र ढोरपाटन नगरपालिकामा नेपाल बैंकको शाखा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्