बागलुङ नगरपालिकाका मेयर बसन्त कुमार श्रेष्ठसँग नयाँ विश्वका सम्पादक मुकेशचन्द्र राजभण्डारीले गरेको संक्षिप्त कुराकानी ।
बागलुङ नगरपालिकाका मेयर बसन्त कुमार श्रेष्ठले बागलुङ नगरलाई आर्थिक तथा सामाजिक विकासमा नमूना बनाउने बताउनु भएको छ । नगरपालिका र वडा कार्यालयबाट दैनिक रुपमा प्रदान गरिने प्रशासकिय सेवालाई प्रभावकारी, कर्मचारीले उच्च मनोबलका साथ काम गर्ने वातावरण बनाउने मेयर श्रेष्ठले बताए ।भौतिक पूर्वाधारमा अब्बल, आर्थिक विकासमा सुधार, शैक्षिक र सामाजिक रुपान्तरणमा अगाडि रहने गरी सबै सरोकारवालाहरुसँग सहकार्य गर्ने उनले भने ।
सेवाग्राही सन्तुष्ट हुने खालको नगरको दैनिक सेवा
बागलुङ बजारलाई सफा र सुन्दर बनाउने,बालमैत्री नगर,बजार क्षेत्रको ढल व्यवस्थापन,ट्राफिक व्यवस्थापनसँगै नगरपालिकाको विषयगत शाखाहरुलाई व्यवस्थित र चुस्त बनाएर दैनिक रुपमा नगरपालिका र वडा कार्यालयमा आउने सेवाग्राहीलाई प्रभावकारी सेवा दिने लक्ष्य रहेको बताउनु भयो ।
यसको लागि सबै कर्मचारीहरुसँग विभिन्न चरण छलफल र अन्तरक्रिया गरी कर्मचारीसँग आवश्यक सुझाव संकलन गरेको बताए । अहिले नगरपालिका भित्र रहेको फोहर फालेर सरसफाइ र रंगरोगनको काम अगाडि बढेको छ । सबै फाँटका कर्मचारीहरु बिहान १० बजेदेखि दिउँसो ५ बजेसम्म बसेर सेवा दिने कार्य सुरु भएको छ ।
नगरलाई बालमैत्री बनाउन आवधिक योजना ल्याइदै
कर्मचारीहरु कार्यालय समयमा नबसि बाहिर जाने कार्यमा सुधार भएको छ ।मेयर श्रेष्ठले २०८० सालभित्रै बागलुङ नगरपालिकालाई बालमैत्री नगर बनाउने कार्यपालिकाले योजना बनाउन सुरु गरेको बताए । आफ्नो पदवहाली पश्चातको पहिलो कार्यपालिकाको बैठकमा नगरपालिकाका १४ वटै वडामा बाल क्लब र बालमैत्री संरचनाहरुको निर्माणको काम सुरु गर्न कर्मचारीहरुलाई निर्देशन दिनु भएको थियो ।
ट्राफिक व्यवस्थापनलाई उच्च प्राथमिकता
श्रेष्ठले बालबालिकाको अधिकार प्रति नगर जिम्मेबार भएमा मात्रै जिम्मेबार नागरिक तयार हुने बताउनु भयो ।बजारमा बढ्दो सवारी साधनको चापले हरेक नागरिकले सास्ती खेप्नुपर्ने भएका कारण नगरपालिकाले पहिलो प्राथमिकतामा बजार क्षेत्रमा ट्राफिक व्यवस्थापनलाई सहज बनाउन पार्किङका लागि जग्गा खोजी गर्ने निर्णय गरिसकेको बताए ।
सरकारी र व्यक्तिको जग्गा भाडामा लिएर पार्कीङको व्यवस्था गर्ने तयारी समेत गरिएको छ । पार्कीङको लागि जग्गा भएका बागलुङ बजारमा रहेको सरकारी कार्यालय, नगरपालिका, वडा कार्यालय,अस्पताल, सामुदायिक तथा निजी विद्यालय, बैंक, सहकारी, होटल र रेष्टुरेन्टले आफनो सेवाग्राहीको गाडि,मोटरसाइकल,स्कुटर र साइकल आफनै भवनभित्र राखेर बागलुङको व्यवस्थापनमा सहयोग गर्नु पर्ने मेयर श्रेष्ठले भने ।
पर्यटक आकर्षित गर्न मालढुंगाको पुलदेखि भगवतीको मन्दिरसम्म रंगरोगन र झिलिमिल बत्ती राख्ने
नगरमा पर्यटकलाई आकर्षित गर्न जिल्लाको प्रवेशद्धार मालढुंगाको पुलदेखि कालिका भगवती मन्दिरसम्म मर्मत तथा आवश्यक रङरोगन,झिलिमिलि बत्तीको व्यवस्था गर्ने काम सुरु गर्ने नगरपालिकाले जनाएको छ । मालढु्ंगामा डिजिटल बोर्ड राख्ने कार्यका समेत थालनि हुन लागेको छ । नगरपालिका भित्र विस्तार भएको सडकको स्तरउन्नती गरी नियमित संचालन गर्ने र नयाँ बाटो खन्ने कार्यलाई निरुत्साहित गर्ने नगरपालिकाले योजना बनाएको छ ।
जथाभावि सडकका ट्रयाक खोल्टा भएका सडकमा बाढीले क्षेती पु¥याउने, बर्खामा बाटो बन्द हुने र गाउँमा भूक्षयको प्रकोप बढेकोले नयाँ सडक खन्न परेमा वडाको सिफारिस,विज्ञको सुझाव र इन्जिनियरहरुको अध्ययन पश्चात नगरपालिकाले अनुमति दिने व्यवस्था गर्न लागिएको छ ।नगरका कालोपत्रे सडकमा पर्ने खाल्टाखुल्टी तत्काल पुर्ने योजना नगरपालिकाले ल्याउन लागेको छ ।
ढल सफा गर्ने काम सुरु
वर्षातको समयमा बागलुङ बजारमा मुख्य समस्याको रुपमा रहेको ढलको उचित व्यवस्थापन गरिने भएको छ । त्यसको लागि बागलुङ नगरपालिका ३ रात्माटा,देउराली चोक,सुलडाँडा, वडा नम्वर ४ को हाडेपाखा,मालिका टोल,उपल्लाचौर लगाएतका क्षेत्रको ढल सफा गरि बाढीको उचित निकास र व्यवस्थापन गरि वर्षातको बेला बागलुङ बजार जलमग्न हुने समस्या अन्त्य गर्नको लागि ढल सफा गर्ने काम अगाडि बढेको छ । नगर र वडाको हरेक काममा नगरवासीको जनसहभागितालाई नगरपालिकाले उच्च प्राथमिकतामा राखेको छ ।
साँघुरा गल्लीमा समेत पार्किङ गरेर दुर्घटनाको जोखिम भएकोले पार्किङको उचित व्यवस्थापनको लागि वडा नंं २ का अध्यक्ष सुरज बोसेलको संयोजकत्वमा बजार व्यवस्थापन समिति गठन गरि समितिलाई पार्किङ गर्ने जग्गाको सम्भाव्यता अध्ययन गर्ने जिम्मेवारी दिइएको छ ।
सिसि क्यामरा जडान गर्ने काम उद्योग वाणिज्यसँगको सहकार्यमा अगाडि बढ्यो
बागलुङ बजारको व्यवसायीक मानविय सुरक्षाको लागि सिसि क्यामेरा जडाज गर्ने काम पुनः सुरु हुने भएको छ । बागलुङ नगरपालिका, बागलुङ उद्योग वाणिज्य संघ बागलुङ तथा सुरक्षा निकायको सहकार्यमा बजार क्षेत्रमा क्यामेरा जडान गर्ने प्रकृया अघि बढाउन लागिएको छ ।
बागलुङ बजारको शान्ति सुरक्षालाई मध्यनजर गरी बजारका विभिन्न चोकहरुमा पुनः सिसी क्यामेरा जडान गर्ने प्रकृया अगाडि बढेको नगर प्रमुख श्रेष्ठले बताउनुु भयो । यसअघि बागलुङ बजारमा जडान भएका २९ वटा सिसि क्यामेरा प्रयोगबिहिन अवस्थामा छन् ।
एम्बुलेन्स,सवबहान र दमकलको हटलाइन सेवा दिन गृहकार्य सुरु
आवश्यक मर्मत सम्भारको अभावमा तीन वर्ष यता प्रयोगबिहिन भएका क्यामेरा विस्थापन गरेर नयाँ क्यामेरा जडानका लागि बागलुङ नगरपालिकाले १५ लाख रुपैयाँ बिनियोजन गरेको छ । साथै नगरपालिकामा हटलाइनको व्यवस्था गरेर एम्बुलेन्स,सवबहान र दमकलको चौविसै घण्टा संकटकालिन सेवा दिने कामको थालनी गर्न आवश्यक गृहकार्य हुन लागेको नगरप्रमुख श्रेष्ठले बताउनु भयो ।
पाँचवटा विषयगत समिति गठन
पहिलो चरणमा पाँचवटा विषयगत समिति गठन गरिएको हो । नगरपालिकाको आर्थिक विकास समितिको संयोजकमा वडा नं–१३ का वडा अध्यक्ष नारायण शर्मा पौडेल, सामाजिक विकास समितिको संयोजकमा वडा नं –११ का वडा अध्यक्ष ज्ञानेन्द्र गौतम, पुर्वाधार विकास समितिको संयोजकमा वडा नं–८ का वडा अध्यक्ष छमबहादुर कार्की, वन तथा वातावरण विपद व्यवस्थापन समितिमा वडा न–९ का अध्यक्ष राजु थापा र सुशासन तथा संस्थागत विकास समितिको संयोजकमा कुमार विक्रम क्षेत्रीलाई जिम्मेवारी प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।
कार्यपालिका बैठकले आगामी आर्थिक वर्ष ०७९,०८० का लागि बजेट तथा कार्यक्रम तर्जुमाका लागि कार्यतालिका समेत निर्माण गरेको छ । आउँदो असार १० गतेसम्म नगरपालिकामा आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याई सक्नुपर्ने भएको हुँदा सोही अनुसार बजेट तथा कार्यक्रम तर्जुमाका लागि कार्यतालिका निर्माण गरिएको सामाजिक विकास समितिका संयोजक ज्ञानेन्द्र गौतमले जानकारी दिए । नगरभित्रका सवै वडा र गाउँसम्म सडक सञ्जाल जोडिएको र अब तिनै सडकलाई स्तोरन्नती गर्ने काम नयाँ आर्थिक वर्षबाट सुरु हुने नगरपालिकाले जनाएको छ ।













































































































































































































