गलकोट-गलकोट नगरपालिकाले आगामी आर्थिक वर्षको कुल ६८ करोड ७५ लाख ३९ हजार बराबरको बजेट सार्वजनिक गरेको छ ।गलकोट नगरपालिकाको ११ औँ नगर सभाको अवसरमा गलकोट नगरपालिकाका नगर उपप्रमुख फमलाल निउरेले आज बजेट सार्वजनिक गर्नुभएको हो ।
नगरपालिकाले आन्तरिक आयतर्फ कर शुल्क, दस्तुर र सेवा शुल्क गरी १ करोड ९५ लाख तथा विविध आय गत वर्षको वैंक मौज्दात रु १ करोड ९ लाख गरी जम्मा रु ३ करोड ४ लाख र नगद जनसहभागिता ५ लाख अनुमान गरिएको छ ।
राजश्व बाडफाड बाट ११ करोड १७ लाख ७५ हजार, अन्तर सरकारी वित्तीय हस्तान्तरण तर्फ नेपाल सरकारबाट प्राप्त समानिकरण १३ करोड ९ लाख, ससर्त तर्फ ३७ करोड २ लाख, प्रदेश सरकार समानिकरण १ करोड ५० लाख ६९ हजार अनुमान गरिएको नगर सभामा जानकारी गराईएको थियो ।
नगरपालिकाले आर्थिक बिकास तर्फ २ करोड ४९ लाख, सामाजिक बिकास तर्फ ४ करोड ८२ लाख ३९ हजार , पूर्वाधार विकास तर्फ ७ करोड ६६ लाख, सुशासन तथा अन्तरसम्वन्धीत बिषयमा ४० लाख ५० हजार तथा बन बाताबरण तथा विपद् ब्यवस्थापनको लागी ४१ लाख रुपैया बिनियोजन भएको छ ।
बजेटमा गलकोट नगरपालिकाको भवन निमार्णको लागि २ करोड, गलकोट नगरपालिका वडा नम्वर ३ को वडा कार्यालय भवन निर्माण गर्न जग्गा प्राप्तिको लागि ३५ लाख, मल्म स्वास्थ्य चौकिको भवन निर्माण गर्न जग्गा प्राप्तिको लागि ३० लाख, वडा नम्वर १ को स्वास्थ्य चौकि भवन निर्माण गर्न जग्गा प्राप्तिको लागि ३० लाख, गलकोटको मुख्य बजारहरुमा सडक बत्ती, सिसि क्यामेरा जडानको लागि १०
लाख, नगरपालिकाको कृषि बाली तथा बागबानी विकासमा रु ६६ लाख ५० हजार, पशु पंक्षी विकास कार्यक्रममा रु ५९ लाख, संघीय सरकार सशर्त तर्फ कृषि तथा पशु विकासमा रु १ करोड ५ लाख गरी जम्मा रु २ करोड ३० लाख ५० हजार बजेटको बिनियोजन भएको छ ।
त्यस्तै ज्येष्ठ नागरीकहरुको सम्मानको लागि विशेष भत्ता वापत रु ८ लाख, नगर शिक्षा कार्यक्रम सञ्चालन गर्न २ करोड १० लाख ४२ हजार र सशर्त अनुदानतर्फ रु २५ करोड ९५ लाख गरी जम्मा रु २८ करोड ५ लाख ४२ हजार, लघु उद्यम विकास कार्यक्रमको लागि ३० लाख, युवा तथा खेलकुद विकास कार्यक्रमको लागि रु २४ लाख ५० हजार, गलकोट नगर अस्पतालको विकास गरी सेवा प्रवाहमा सुधार गर्न रु २१
लाख, नगरपालिका भित्रका सडक वाह्रै महिना नियमित संचालनको लागि मर्मत संभार गर्न रु ३० लाख, छहरेखोला कोटमैदान वराहथान लिफ्टिङ खानेपानी आयोजनाका लागि ४० लाख, सिद्धथान खानेपानीको लागि १५ लाख, नौविसे जामुनडाडा, पैयुडाडा, ढलेपिपल मोटरवाटो ढलानका लागि २५ लाख, भैसे गेटदेखि मानडाडा सर्दाखेत मोटरबाटो पक्कि नाली निर्माणका लागि २५ लाख, चालिसेटोला
ज्यामिरे मोटरवाटो निर्माणका लागि १२ लाख, जरिखेट पिपलडाँडा डडविसे सडक निर्माणका लागि १८ लाख, लोप वरेखानी गोलडाँडा मोटरवाटो स्तरोन्नतिका लागि १२ लाख, मोटरबाटो मर्मत सुधार रमुवाका लागि १५ लाख, ढुंगिल मोटरबाटो निर्माणका लागि १२ लाख, गोठलाङ जाने मोटरवाटोको लागि ३० लाख बजेट बिनियोजन भएको छ ।
११ औँ नगर सभाले बिनियोजन ऐन २०७९, नगरपालिकाले हालसम्म गरेको खर्च विवरण, राजश्व परामर्श समितिको प्रतिवेदन २०७९ पारित गरिएको थियो ।नगर सभा सभाध्यक्ष नगर प्रमुख भरत शर्मा गैरेको अध्यक्षतामा सम्पन्न भएको थियो ।
समाचार र तस्वीर सामुदायिक रेडियो गलकोटबाट













































































































































































































