बेनी । म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९ र ८० का लागि रु ७३ करोड २२ लाख बराबरको बजेट पारित गरेको छ । शुक्रवार बेनीमा सम्पन्न एघारौँ अधिवेशनमा प्रस्तुत नीति तथा कार्यक्रम र बजेट पारित भएको छ ।
‘कृषि, पर्यटन र पूर्वाधार स्वच्छ, समृद्ध बेनी नगरको मूल आधार’ भन्ने नारालाई आत्मसाथ गर्दै नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रम संशोधन र बजेट छलफल सहित पारित भएको हो ।
नगरसभामा उपप्रमुख ज्योती लामिछानेले आगामी आर्थिक वर्षका लागि चालु खर्चतर्फ ४६ करोड १४ लाख अर्थात् ६३ दशमलव ०१ प्रतिशत र पुँजीगततर्फ २७ करोड आठलाख रुपैयाँ अर्थात् ३६ दशमलव ९९ प्रतिशत बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । बेनी नगरपालिकाले सामाजिक विकास, भौतिक पूर्वाधार, कृषि, पशुपालन, खानेपानी, शिक्षा, स्वास्थ्य लगायतको क्षेत्रलाई प्राथमिकता दिएर बजेट निर्माण गरेको छ ।
नगरपालिकाले कुल बजेटबाट सबैभन्दा धेरै सामाजिक विकासतर्फ ३८ करोड ४३ लाख ७५ हजार बजेट विनियोजन गरेको छ । पूर्वाधार विकासतर्फ २५ करोड १० लाख ,आर्थिक विकासतर्फ चार करोड १० लाख, विनियोजन भएको छ । यसैगरी वन, वातावरण तथा विपद् व्यवस्थापनका लागि ‘विपद्मा मेयर कार्यक्रम’ सञ्चालनसहितका कार्यक्रमका लागि एक करोड पाँचलाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
प्रस्तुत बजेटमध्ये आर्थिक विकासअन्तर्गत कृषि क्षेत्रतर्फ दुई करोड नौ लाख ४० हजार, पशुपन्छी विकासतर्फ ५६ लाख ६० हजार, उद्योगतर्फ ३५ लाख, पर्यटनमा ७४ लाख, जलस्रोत तथा सिँचाइतर्फ ३० लाख र सहकारी क्षेत्रतर्फ पाँच लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
त्यस्तै सामाजिक विकासअन्तर्गत शिक्षातर्फ २७ करोड ९९ लाख, स्वास्थ्यतर्फ चार करोड ३८ लाख, युवा तथा खेलकुदतर्फ २२ लाख ५० हजार, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणतर्फ ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम लगायतका कार्यक्रमहरुका लागि ५७ लाख ५० हजार विनियोजन भएको छ । खानेपानी तथा सरसफाइतर्फ चार करोड ७३ लाख, विविधतर्फ एक करोड ३१ लाख ७५ हजार रुपैयाँ बजेट विनियोजन भएको छ ।
पूर्वाधार विकासअन्तर्गत सडक तथा पुल निर्माणतर्फ ८ करोड १८ लाख, भवन, आवास तथा सहरी विकासतर्फ चार करोड २९ लाख र उर्जा कार्यक्रमका लागि आठ लाख रुपैयाँ बजेट विनियोजन भएको नगर उपप्रमुख लामिछानेले बताउनुभयो ।
यसअघि नगरसभामा नगर प्रमुख सुरत केसीले आगामी वर्षका लागि वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।विकसित बेनी नगरपालिका निर्माणको लागि नगरपालिकाले सबैसँग सहकार्य गर्ने नगर प्रमुख केसीले बताए ।
नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार, भौतिक पूर्वाधार निर्माण,वातावरणमैत्री विकासलाई प्राथमिकता, कृषि र पशुपालनको व्यवसायिकरण र आधुनिकीकरण सँगै उद्यमशिलताको विकास गर्ने नीति लिएको छ । यसैबीच बेनी नगरसभामा नगर कार्यपालिकाको लेखा समिति, विद्यायन र सुशासन समिति तथा न्यायिक समितिलाई समेत पूर्णता दिइएको छ ।

तस्वीर म्याग्दी न्युज र म्याग्दी अनलाइनबाट













































































































































































































