२४ बैशाख २०८१, सोमबार

 

गलकोटको कृषकका लागि गाउँमै बाली उपचार शिविर

बागलुङको गलकोट नगरपालिका–१, दुदिलाभाटीका किसानले लगाएको सुन्तला, कागतीलगायतको फलफूलकोे फल झर्ने, बोटका मुन्टा सुक्नेलगायतको समस्याले हैरान भएका वेला गाउँमै कृषि प्राविधिक पुगेपछि यहाँका किसानलाई राहत भएको छ ।

गाउँमै बाली उपचार शिविर सञ्चालन गरेर कृषि प्राविधिकले दिएको सुझाबअनुसार किसानले आफ्नो बारीमा लगाएको फलफूल र तरकारीका बिरुवा जोगाएका छन् ।

‘सुन्तला कागतीलगायतका फलफूलका फल झर्ने समस्याले हैरान भएका थियौँ। तरकारीमा पनि औसाकिरा लागेर हैरान थियौँ,’ स्थानीय किसान हिरा काउचाले भने, ‘गाउँमै बाली उपचार शिविर सञ्चालन भएपछि हामीलाई धेरै फाइदा भयो ।

जैविक विषादीको प्रयोग गरेर रोग नियन्त्रणका उपायका बारेमा जानकारी पायौँ, शिविरका कारण फलफूल र तरकारीमा भएको समस्या पनि समाधान हुने आशामा छौँ ।’

स्थानीय तहसँग समन्वय गरेर गाउँमै कृषि प्राविधिक पुगेर बालीमा लागेको रोगका बारेमा जाँचबुझ गरी उपचार पद्धतिका बारेमा कृषकलाई

जानकारी दिने र उनीहरूले सोहीअनुसार रोग तथा किरा नियन्त्रणका लागि औषधि तथा अन्य विधि अपनाउने गरेको गलकोट नगरपालिकाका कृषि प्राविधिक रमा शर्माले बताइन् । नगरपालिकाको हरिचौर र दुदिलाभाटीमा शिविर गरिएको थियो ।

दुदिलाभाटीमा २५ जना कृषकहरूले आफ्नो तरकारी र फलफूल खेतीमा लागेको रोगकको बारेमा जानकारी गराएर समाधानको उपायको बारेमा खोजी गरेका थिए ।

कृषि ज्ञानकेन्द्र बाग्लुङको आयोजनामा जिल्लाका विभिन्न स्थानमा बाली उपचार शिविर सञ्चालन गरिएको हो ।

ज्ञानकेन्द्रले चालू आर्थिक वर्षमा जिल्लाका ६ स्थानमा शिविर सञ्चालन गरी कृषकका समस्या समाधानको उपाय खोजेको कृषि ज्ञानकेन्द्र बाग्लुङका प्रमुख भानुभक्त भट्टराईले बताए ।

शिविरमा किसानलाई परेका समस्या, बालीमा लागेको रोगकिराको उपचार, जैविक विषादीको प्रयोगलगायतका विषयमा जानकारी दिइएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्