२५ बैशाख २०८१, मंगलवार

 

नेपाल महिला संघको स्थापना दिवसमा विद्यालयलाई सहयोग

नेपाल महिला संघको ७५औं स्थापना दिवसको अवसरमा नेपाल महिला संघ बागलुङले विद्यालयलाई खेलकुद तथा शैक्षिक सामाग्री सहयोग गरेको छ ।

दिवसको अवसरमा बागलुङ नगरपालिका–९ तित्याङमा रहेको शिवालय आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि खेलकुद तथा शैक्षिक सामाग्री वितरण गरेको नेपाल महिला संघ बागलुङकी सचिव भगवती केसीले जानकारी दिनु भयो ।

नेपाली काँग्रेस बागलुङका सभापति जित शेरचनले भलिवल, क्यारिमबोर्ड लगायतका खेलकुदका सामग्री, शैक्षिक सामग्री प्रध्यानाध्यापक घनश्याम खत्रीलाई हस्तान्तरण गर्नु भएको थियो। कक्षा १ देखी ५ सम्म संचालन भएको विद्यालयमा हाल ९५ जना विद्यार्थी अध्ययनरत रहेका छन ।

कार्यक्रममा बोल्दै सभापति जित शेरचनले महिलाहरु अब ३३ प्रतिशतमा मात्र सिमित हुनु नहुने बताउनु भयो।

उनले महिलाले पनि हरेक क्षेत्रको नेतृत्व लिनका लागि सक्षम छौं भन्ने प्रमाणित गर्ने अवस्था आएको बताए । शेरचनले नेपाली काँग्रेसको प्रमुख मेरुदण्डको रुपमा नेपाल महिला संघ भएका कारण पार्टीले हरेक गतिविधिमा नेपाल महिला संघसँग सल्लाह सुझाव लिएर अगाडि बढेको बताउनु भयो।

कार्यक्रममा नेपाल महिला संघका केन्द्रीय सदस्य नेपाली काँग्रेस गण्डकी प्रदेश सदस्य पार्वती आचार्यले महिलाहरु अब सधै घरधन्दामा मात्र सिमिति हुनु नहुने बताईन । उनले महिला संघले आफ्नो स्थापना दिवसको अवसरमा हरेक वर्ष सामाजिक कार्यमा सहयोग गर्दे आएको बताईन ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्री प्रसाद शर्मा, प्रध्यानाध्यापक घनश्याम खत्री,नेपाल महिला संघका क्षेत्र नं १ का क्षेत्रीय अध्यक्ष हुमा रिजाल, नेपाल महिला संघ, बागलुङ नगरपालिकाका अध्यक्ष पिंगला जिसी लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रम नेपाल महिला संघ बागलुङका सचिव भगवती केसीको अध्यक्षता, काँग्रेस बागलुङका जिल्ला सदस्य लक्ष्मी शर्माको स्वागत र महिला संघका जिल्ला सदस्य पार्वती शर्माको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्