५ जेष्ठ २०८१, शनिबार

 

मिलन गुरु विज्ञान प्रयोगशालाको लागि श्रेष्ठ परिवारद्वारा ६० थान कुर्ची सहयोग

बागलुङका शिक्षासेवी सूर्य प्रसाद श्रेष्ठ ‘मिलन’ को स्मृतिमा बागलुङको विद्यालय विद्यामन्दिर माध्यमिक विद्यालयमा ६० थान प्लास्टिक कुर्ची हस्तान्ण गरिएको छ । धौलागिरि अंचलकै पुरानो विद्यालय विद्यामन्दिर माध्यमिक विद्यालयका पूर्वशिक्षक रहेका श्रेष्ठको सहयोगमा निर्माण भएको मिलन गुरु विज्ञान प्रयोगशालाको लागि ६० थान प्लास्टिक कुर्ची हस्तान्त्रण गरिएको हो ।

श्रेष्ठका छोरा सिद्धार्थ मिलन श्रेष्ठ बुहारी शर्मिला श्रेष्ठ र छोरी सलोनी श्रेष्ठले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वावुलाल शाक्यलाई कुर्ची हस्तान्त्रण गर्नु भएको थियो । विद्यालयका पूर्वशिक्षक तथा संस्कृतिकर्मी रहेको श्रेष्ठको १६ लाख ६५हजार ५सय ५५ रुपैया सहयोगमा मिलन गुरु विज्ञान प्रयोगशाला निर्माण गरिएको थियो । श्रेष्ठले लामो समय विद्यालयमा स्वास्थ्य विषय पढाएका थिए । ‘मिलन’ उपनामले परिचित श्रेष्ठमा चित्रकला,नाटक र रोपाइ नाचमा विशेष दखल थियो । श्रेष्ठले बास्सा नाचका कलाकारहरुलाई सृंगार गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

विद्यामन्दिर माध्यामिक विद्यालयबाट विसं २०१६ सालमा पाल्पाबाट एसएलसि दिने श्रेष्ठ पहिलो पुस्ताका विद्यार्थी थिए । श्रेष्ठले विद्यामन्दिर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणको लागि १३ लाख ५० हजार प्रदान गरी एउटा सुविधा सम्पन्न कोठा निर्माण गर्नुको साथै विज्ञान प्रयोगशाला बनाउनको लागि ३ लाख रुपैयाँ प्रदान गरेका थिए ।

विं.सं.१९९७ मा राणाशासनको समयमा ओमप्रसाद गौचन, मेघकुमार वैद्यले स्थापना गरेको विद्यामन्दिर साविक नेपालमा खुलेको विद्यालय मध्य इतिहास बोकेको पुरानो विद्यालय हो । २०७२ सालको भूकम्पले क्षति पुगेको विद्यालयमा धनधान्याचल महायज्ञबाट रकम जुटाई अहिले सुविधासम्पन्न भवन बनाइएको छ ।

महायज्ञमा करिब ७ करोड रकम संकलन भएको थियो । त्यसमध्ये करिब पाँच करोड रुपैयाँ पूर्वविद्यार्थीहरूको योगदान रहेको छ । अहिले पनि विभिन्न दाताहरुको सहयोग आइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वावुलाल शाक्यले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्