२१ बैशाख २०८१, शुक्रबार

 

रासायनिक मलको सहज आपूर्ति र मूल्य एकरूपताका लागि बागलुङ नगरपालिका सक्रिय

बागलुङमा रासायनिक मलको सहज आपूर्ति र मूल्य एकरूपताका लागि बागलुङ नगरपालिकाले चासो देखाएको छ । सरकारले कृषकका लागि अनुदानमा उपलब्ध गराउने मलको वितरण गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेशन बागलुङ वितरण शाखा र बागलुङ नगरपालिकाबीच मल आपूर्तिलाई सहज बनाउँदै वितरण मूल्यलाई वैज्ञानिक ढङ्गले कार्यान्वयन गर्ने गरी सहमति गरेको हो ।

बागलुङमा सहज रूपमा रासायनिक मल नपाउने र मूल्यमा समेत एकरूपता नहुने कारणले समयमै किसानले मल ल्याउन नपाउदा समस्या भएको गुनासो आएपछि नगरपालिकाले रासायनिक मल आपूर्तिमा सहजता, व्यवस्थापन र वैज्ञानिक ढङ्गले मूल्य निर्धारणका लागि समन्वयसमेत गरेको छ ।

नगरपालिकाभित्रका किसानलाई महलको सहज आपूर्ति गराउँदै उचित मूल्यमा सरकारले अनुदानमा दिएको रासायनिक मल दिने गरी सहमति भएको बागलुङ नगरपालिकाका उपप्रमुख तथा अनुदानमा रासायनिक मल व्यवस्थापनका लागि बनेको स्थानीय समितिका संयोजक राजु खड्काले जानकारी दिनुभयो ।

मलको मागअनुसार समयमै मल आपूर्ति गर्ने र मूल्य निर्धारणलाई एकरुपता गराउने गरी सहमति भएको उप प्रमुख खड्काले बताउनु भयो । मूल्यमा समेत एकरुपता नहुँदा किसान मर्कामै परेकोले साल्ट ट्रेडिङ कर्पोरेशनबाट खरिद गरेको मल व्यापारीले नगरपालिकाले स्थानअनुसार तोकेको वैज्ञानिक मूल्यमा मात्रै बिक्री गर्न पाउने भएका छन्। युरिया, डिएपी र पोटास मलको नगरपालिकाको वडाअनुसार ढुवानी खर्चका आधारमा मूल्य निर्धारण गरेको छ ।

बजार अनुगमनका क्रममा रासायनिक मलको मूल्यमा एकरूपता नदेखिएको र किसानले सहज रूपमा मल नपाउँदा कालोबजारी हुनसक्ने भन्दै मल व्यवस्थापनका लागि बनेको स्थानीय समिति र साल्ट ट्रेडिङ कर्पोरेशनबीच लिखित सम्झौता नै भएको छ ।
नगरपालिकाभित्रका व्यापारीले युरिया मल प्रतिकेजी रु २७ सम्म बिक्री गरेको अनुगमनमा क्रममा पाइएको तर नगरपालिकाले ढुवानी खर्चसहित बजार क्षेत्रमा जम्मा प्रतिकेजी रु २३ मूल्य निर्धारण गरेको छ ।

नगरपालिकाका अनुसार बजार क्षेत्रमा युरिया मल प्रतिकेजी रु २३ र नगरपालिकाको ग्रामीण क्षेत्रमा प्रतिकेजीको मूल्य रु २५ निर्धारण गरेको छ । यस्तै डिएपी मलको बजार क्षेत्रमा प्रतिकेजी रु ५२, बजार नजिकका वडामा प्रतिकेजी रु ५३ र बलेवा क्षेत्रमा प्रतिकेजी रु ५४ मूल्य निर्धारण गरेको छ । यस्तै पोटास मलको बजार क्षेत्रमा प्रतिकेजी रु ४०, बजारसँग नजिक रहेका वडामा रु ४१ र अन्य वडामा रु ४२ मूल्य निर्धारण गरिएको छ । नगरपालिकाले निर्धारण गरेको मलको मूल्यमा झोला, ढुवानी र चुहावटसमेत समावेश गरिएको छ ।

राष्ट्रिय उपभोक्ता मञ्च बागलुङ, साल्ट ट्रेडिङ कर्पोरेशन, बागलुङ, कृषि ज्ञान केन्द्र र बागलुङ उद्योग वाणिज्य सङ्घले निर्धारण गरेको मलको मूल्यलाई बागलुङ नगरपालिकाले सदर गर्दै सोही मूल्यमा मल खरिद गर्न किसानलाई आग्रहसमेत गरेको बागलुङ नगरपालिकाले जनाएको छ ।

उपप्रमुख खड्काका अनुसार आगमी वर्षमा आवश्यक मलको अध्ययन गरेर आपूर्तिका लागि सहजीकरण गर्दा मलको अभाव नहुने जनाउँदै नगरपालिकाले बजार अनुगमनलाई समेत तीव्रता दिइराख्ने बताउनुभयो । मलको आवश्यकता निर्धारण गरेपछि मात्रै मलको सहज आपूर्ति गर्न सकिने र मूल्यमा एकरूपता बनाउँदा किसान ठगिनबाट जोगिनलाई नगरपालिकाले साल्ट ट्रेडिङ कर्पोरेशन बागलुङ वितरणसँग समन्वय गरेर अगाडि बढेको छ ।

व्यापारीले रासायनिक मललाई मनोमानी ढङ्गले बिक्री वितरण गरेको अनुगमनका क्रममा पाइएकाले नगरपालिकाले ढुवानीसहित निर्धारण गरेको मूल्यमा बिक्री वितरण गर्ने गरी मल विक्रेतालाई मल उपलब्ध गराउने साल्ट ट्रेडिङ कर्पोरेशन बागलुङ वितरण केन्द्रका प्रमुख मनोज श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्