बागलुङ । बागलुङ नगरपालिकाको १२ आैं नगर सभा सम्पन्न भएको छ । शुक्रबार बागलुङ बजारमा सम्पन्न नगरसभाले गण्डकी प्रदेशको राजधानी पोखरामा अन्तर्राष्ट्रिय बिमानस्थल संचालनमा आएपछि बागलुङ नगरपालिका भित्र रहेको वलेवा एयरपोर्टलाई यथाशक्य छिटो संचालन गर्न नगरपालिकाले पहल गरिरहेको नगर प्रमुख बसन्त कुमार श्रेष्ठले बताउनु भयो ।
वलेवा एयरपोर्ट नगरपालिकाको उच्च प्राथमिकतामा रहेको आर्थिक वर्ष २०७९ र ०८० नीति तथा कार्यक्रममा उल्लेख छ ।
बागलुङ नगरपालिकाले नगरको विकास योजना समयमै सम्पन्न गर्न १४ वटा वडामा एकीकृत घुम्टी शिविर संचालन गरि ९३ वटा योजना सम्झौता गरेको, निशुल्क स्वास्थ्य सेवा मार्फत ८ सय ६९ जनालाई अपांग परिचयपत्र प्रदान गरेको, जनसहभागिता मुलक विकासलाई अगाडि बढाउन ११ वटा टोल विकास संस्था दर्ता गरिएको बागलुङ नगरपालिकाका नगर प्रमुख श्रेष्ठले नगर सभामा जानकारी गराउनु भयो ।
बागलुङ नगरपालिकाले सबै वडा कार्यालय जोड्ने गरी सडक, शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, पशुपालन, पर्यटन, सिचाई, व्यापार, घरेलु उद्योग, खेलकुद र संचारलाई विशेष महत्व दिएर त्यससँग सम्बन्धीत विभिन्न कार्यक्रमहरु अगाडि बढाउन लागेको नगर प्रमुख श्रेष्ठले जानकारी गराउनु भएको थियो ।
त्यसको लागि सबै सरोकालवालाहरुसँग मैत्रीपूर्ण सहयार्य गरिने बताउनु भयो ।सुन्दर र समृद्ध बागलुङ नगर निर्माण गर्न नगरपालिकाले बागलुङ प्रवेशद्वारमा रहेको मालढुङ्गा पुलदेखि कालिका भगवती मन्दिरको गेटसम्म शौन्दर्यकरण कार्यको तयारी गरिरहेको, नगर क्षेत्र भित्र सडक कालोपत्रे र सौर्य बत्ती जडान गर्ने तयारी भइरहेको नगर प्रमुख श्रेष्ठले बताउनु भयो ।
नगरपालिकाको मुख्य बजार क्षेत्रमा भुमिगत ढलसहित प्रशोधन केन्द्र निर्माण योजना कार्यान्वयनको लागि खानेपानी तथा ढल ब्यवस्थापन विभागमा आवश्यक पहला भइरहेको नगर सभामा जानकारी गराउनु भएको थियो ।
नगर सभाले आर्थिक वर्ष २०८० असार मसान्तसम्म नगर पालिकामा बुझाउनुपर्ने ब्यवसाय कर ,सम्पत्ति कर ,फोहोर मैला शुल्क तिर्न बाकी रहेका रकम बुझाएमा अहिलेसम्म लाग्ने जरिवाना सबै छुट दिने निर्णय गरेको छ ।
बागलुङ बजार भित्र जथाभावी रूपमा चलाउदै आएको ठेला गाडा जनताको स्वास्थमा असर पर्ने अखाद्य पदार्थ राखि बिक्री वितरण हुँदै आएको चना चटपटलाई उचित ब्यवस्थापन गर्नुपर्ने सुझाव नगर सभामा राखिएको थियो ।
नगर सभामा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले आर्थिक वर्ष २०७९ र०८० को संशोधन बजेट पेश गर्नु भएको थियो । जसलाई नगर सभाले गहन छलफल गरि सर्वसम्मत रूपमा पारित गरेको थियो ।
नगर सभामा बिधेयक समितिका संयोजक शनि केसी ,सार्वजनिक लेखा समितिका संयोजक अर्जुन घिमिरे ,सार्वजनिक सेवा प्रवाह तथा क्षमता विकास समितिका संयोजक कुमार बिक्रम क्षेत्रीले आआफ्नोतर्फबाट कार्यक्रम र कार्ययोजना सभामा पेश गरेका थिए ।


























































































































































































