५ जेष्ठ २०८१, शनिबार

 

न्यू एभरेष्ट एकेडेमीको १७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

बागलुङ । न्यू एभरेष्ट एकेडेमी रामरेखा बागलुङको १७ औं वार्षिकोत्सव तथा विद्यार्थी एवंम् अभिभावक दिवस बिहिबार सम्पन्न भएको छ । वार्षिकोत्सवको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले शैक्षिक संस्थाहरुले श्रमलाई सम्मान गर्ने र गुणस्तरीय जनशक्ति उत्पादन गर्नुपर्ने जोड दिनु भयो ।

शैक्षिक क्षेत्रमा निजी विद्यालयको महत्वपुर्ण भूमिका रहेको चर्चा गर्दै श्रेष्ठले नगरपालिकाले शुरु गरेको बालमैत्री अभियानलाई सफल बनाउनका लागि सबै सामुदायिक तथा निजी विद्यालयहरुले प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गर्नु भएको थियो ।

कार्यक्रममा नगर शिक्षा अधिकारी धन प्रसाद पोखरेल, बागलुङ नगरपालिका वडा नं. ९ का वडाध्यक्ष राजु थापा, वडा नं. ५ का वडा सदस्य बाबुराम सापकोटा, सामुदायिक सेवा केन्द्र रामरेखाका अध्यक्ष दुर्गा बहादुर आचार्य, चिल्डे«न लाइफ इङलिस बोर्डिङ स्कुलका प्रिन्सिपल नवराज श्रेष्ठ, अमर आदर्श आवासिय माविका प्रिन्सिपल हेमन्त थापा, गुराँस शिक्षा सदनका प्रिन्सिपल निशान खड्का, नवरामरेखा तरकारी उत्पादक सहकारी संस्थाका उपाध्यक्ष बसन्त मल्ल, अभिभावक बुद्विबल थापा, शिक्षक कृष्ण आचार्य, नेपाल महिला संघकी केन्द्रीय सदस्य पार्वती आचार्य र न्यू एभरेष्ट एकेडेमीका संस्थापक अध्यक्ष हरिनारायण गौतमले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

न्यू एभरेष्ट एकेडेमीका संस्थापक अध्यक्ष हरिनारायण गौतमको अध्यक्षता, शिक्षक माधव शर्मा र विद्यार्थी पुजा सापकोटाको स्वागत, शिक्षक भूमिराज शर्माको संचालनमा सम्पन्न भएको कार्यक्रममा प्रिन्सिपल कृष्ण अधिकारीले विद्यालयको आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्