५ जेष्ठ २०८१, शनिबार

 

श्री सिगाणा माविको ६९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

बागलुङ । श्री सिगाणा माविको ६९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । विहिबार बागलुङ नगरपालिका वडा नं ९ तित्याङमा आयोजित वार्षिकोत्सवको उद्घाटन बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले गर्नु भएको थियो । विद्यालयले विश्वमा सूचना प्रविधिमा आएको परिवर्तनसँगै विद्यार्थीहरुलाई श्रम प्रति सम्मान गर्ने आधुनिक शिक्षा र संस्कार दिनु पर्ने नगरप्रमुख श्रेष्ठले बताउनु भयो ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई बागलुङका प्रमुख कुश्मराज उपाध्याय, श्री सिगाणा मावि विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष महेन्द्र खड्का, धौलागिरि बहुमुखी सहप्राध्यापक हरि प्रसाद गौतम, बागलुङ नगरपालिकाका प्रशासकिय अधिकृत पुरुषोत्तम सापकोटा ,सामुदायिक विद्यालय गण्डकी प्रदेश व्यवस्थापन समिति महासंघ अध्यक्ष टिकाराम थापा, बानपा ८ का वडा अध्यक्ष छमबहादुर कार्की र विद्यालयका प्रधानाध्यापक गोपाल कुमार शर्माले मन्तव्य व्यक्त गर्नु भएको थियो ।कार्यक्रममा विद्यालयले प्रकाशन गरेको वार्षिक मुखपत्रको बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठ र शिक्षा विकास तथा समन्वय इकाई बागलुङका प्रमुख कुश्मराज उपाध्यायले संयुक्त रुपमा विमोचन गर्नु भएको थियो ।

वार्षिकोत्सवमा आयोजित विभिन्न खेलकुदहरु, सांस्कृतिक कार्यक्रम र हालै सम्पन्न बागलुङ नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । विद्यालयमा स्थापना विभिन्न स्मृति तथा अक्षय कोषबाट बालविकासदेखि कक्षा १२ सम्मका विद्यार्थीहरुलाई नगद हस्तान्तरण गरिएको थियो ।

विद्यालयका प्रधानाध्यापक गोपाल कुमार शर्माले प्रस्तुत गर्नु भएको शैक्षिक सुधारमा सरोकार वर्गको भूमिका विषयक कार्यपत्रमाथि शिक्षा विकास तथा समन्वय इकाई बागलुङका प्रमुख कुश्मराज उपाध्याय, जनप्रतिनिधि, अभिभावक, शिक्षासेवी, समाजसेवी, शिक्षक, कर्मचारी, विद्यार्थीहरुले सल्लाह, सुझाव र विमर्श गरेका थिए ।कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर खड्काको अध्यक्षता, शिक्षक अभिभावक संघका अध्यक्ष दिनानाथ गौतमको स्वागत र शिक्षक लक्ष्मण खड्काको संचालनमा सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्